११ पुस २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

बजेट अभावले निसीखोलाको आधारभूत अस्पताल अधुरो

बागलुङको निसीखोलामा निर्माणाधीन पालिकास्तरीय आधारभूत अस्पताल बजेट अभावले अधुरो रहेको छ। गत वर्ष पुसमा सम्पन्न हुनुपर्ने यो अस्पताल निर्माणमा ढिलाइ भएको हो। 

निसीखोला गाउँपालिका–४ झिम्पामा निर्माण भइरहेको १० शय्याको आधारभूत अस्पतालका लागि २०७८ माघमा सम्झौता भएर काम सुरु भएको थियो। ८ करोड २४ लाखमा निर्माण सुरु भएको अस्पताल २०८० पुसमा सम्पन्न गर्ने लक्ष्य थियो। तर, हालसम्म ९० प्रतिशत मात्र काम भएको हिन्दुङ आइएस÷एसी जेबीका प्रमुख दीपककुमार अदैले बताए। पालिकाले बजेट व्यवस्थापन गरे दुई महिनामै काम सम्पन्न गर्न सकिने उनको भनाइ छ। २०८० भदौमा बुझाइएको १ करोड १० लाखको बिलको भुक्तानी अझै नभएको उनले जानकारी दिए। 

पालिकाबाट बाँकी रहेको १ करोड १० लाख र थप ६० लाख व्यवस्थापन गर्न सके निर्माणमा कुनै समस्या नहुने अदैले बताए। लामो समयदेखि भुक्तानी नपाउँदा समस्या भएको उनको गुनासो छ। बजेट व्यवस्थापन भएको भए गत वर्ष नै अस्पताल सम्पन्न हुने उनले बताए। 

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले सङ्घीय सरकारले बजेट नपठाउँदा अस्पताल अधुरो रहेको बताए। गाउँपालिकाको आन्तरिक स्रोत कम भएकाले अस्पतालमा बजेट विनियोजन गर्न नसकिएको उनको भनाइ छ। आवश्यक बजेटका लागि स्वास्थ्य मन्त्रालयसँग माग गरिएको उनले बताए। रासस

प्रकाशित: ३ वैशाख २०८२ ०८:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App