उदयपुरको लिमचुङबुङ गाउँपालिका–४, छाताङमा शनिबार मध्याह्न भएको आगलागीले स्थानीय तिलेन्द्र राईको घर, पशुचौपाया र धनमाल जलेर नष्ट भएको छ।
साग्रा जंगलको डढेलो बस्तीमा फैलिँदा राईको परिवार बिचल्लीमा परेको छ भने स्थानीय ७० घरधुरीको खानेपानी आपूर्ति अवरुद्ध भएको छ।
वडाध्यक्ष छत्रबहादुर राईका अनुसार दिउँसो १२ बजे साग्रा जंगलमा लागेको डढेलोले राईको ढुङ्गा–माटो र फुसको छानो भएको दुईतले घर जलेको छ।
घरभित्रको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, कागजात र नगदसहित गोठमा बाँधिएका १० बाख्रा, ३ खसी र २ बङ्गुर पनि जलेर मरेका छन्। आगलागीले साग्रा खानेपानी योजनाको पाइप जलेर ४० लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ।
इलाका प्रहरी कार्यालय लिमचुङबुङ बाराहाबाट खटिएको टोलीले राईको घर र धनमालको ९ लाख बराबरको क्षति भएको विवरण सङ्कलन गरेको छ। तर, खानेपानीको यकिन क्षति अझै खुल्न बाँकी छ।
स्थानीय र प्रहरीको संयुक्त प्रयास जारी भए पनि आगो अझै नियन्त्रणमा आएको छैन। वडाध्यक्ष राईले प्रहरीले उद्धार र आगो निभाउन सहयोग गरिरहेको जानकारी दिए।
प्रकाशित: २३ चैत्र २०८१ २०:४८ शनिबार