श्रीधरले बाबालाई सोध्थ्यो,"बाबा! चङ्गा कति माथिसम्म जान्छ?"
बालमनलाई शान्त पार्न बाबाले भन्नुहुन्थ्यो,"जति माथि पनि जान सक्छ।"
ऊ सानो हुँदा बाबाले चङ्गा उडाउनुहुन्थ्यो। घरीघरी बाबासँग लट्टाई मागेर ऊ पनि धागो छोड्थ्यो। चङ्गा कुनै बेला घुमेर तल झर्न खोज्थ्यो। घरि अकासिएर सिधै माथिसम्म पनि जान खोज्थ्यो।
श्रीधर आत्तिएर भन्थ्यो, "धागो छोडिदिनु बाबा!"
बाबाले भन्नुहुन्थ्यो, "छोरा धागो छोडिदियो भने चङ्गा बरालिन्छ र खस्छ।"
आज श्रीधर अमेरिकाको घरको छतबाट एक्लै चङ्गा उडाउँदै छ। चरा जस्तै चङ्गा माथिमाथि पुगोस् भन्ने चाहन्छ। चङ्गा माथि पुग्यो, धागो सकियो।
उसले सोच्यो, "अझ माथि जाओस्।"
धागो चुँडाइदियो। चङ्गा केही समय माथि गयो। हेर्दाहेर्दै चङ्गा ढलपलढलपल गर्दै बिलायो।
श्रीधरलाई बाबाको वचन याद आयो, "लगामबिनाको घोडा र धागोबिनाको चङ्गा न गन्तव्यमा पुग्छ न आकाश छुन सक्छ।"
प्रकाशित: २३ फाल्गुन २०८१ १३:०३ शुक्रबार