‘रम्मी, जुवाइँ खै?’ पल्लवी भित्र प्रवेश गर्दाबित्तिकै भनिन्।’
‘खै आमा एकछिन बजार पुगेर आउँछु भन्नुभएको थियो।’ रम्मीले भनी।
‘उफ! तेरो लोग्ने पनि नि!’
‘के भयो र आमा?’ रम्मीले पल्लवीलाई निराश देखेर सोधी।
‘काम थियो!’ सटिकमा उत्तर दिइन्।
रम्मीले भनी, ‘आमा! उहाँ आइपुग्नुभयो।’
‘बोला!’ पल्लवी चर्को स्वरमा भनी।
‘अचेल आमालाई के भएको छ! यसरी आमा चर्को बोल्नुहुन्छ। उनलाई सधैं हकार्नुहुन्छ।’ रम्मीले मन मनै भनी र चियो गर्ने निधो गरी।
‘सुन्नु त! आमाले हजुरलाई खोजिरहनुभएको छ। केही कतै नराम्रो कुरा भयो कि?’ रम्मीले विवेकलाई बिस्तारै सोधी।
‘खै रम्मी आमा केही महिनादेखि मसँग अलि नराम्रो वार्तालाप गर्दै आउनुभएको छ। किन हो त्यो म आफैंलाई पनि थाहा छैन। विवेकले त्यत्ति भन्यो र पल्लवीको रूममा गयो।
‘आमा हजुरले बोलाउनुभएको?’ विवेकले पल्लवीको नजिकै गयो र सोध्यो।
‘तपाई घरमा नभनी हिंड्नुहुन्छ, कहाँ जानुभएको हो? हजुरलाई थाहा छैन घरमा कैयौ काम हुन्छन्।’ पल्लवी नाक मुख बिगार्दै चर्को स्वरमा भनी।
‘हजुर भन्नु न आमा। म अहिले गर्छु नि त!’
‘अब के गर्नुहुन्छ हजुरलाई बजार पठाउनु थियो। अब भैगो पर्दैन।’ पल्लवी रिसाउँदै उसकाे कुरा सुन्दै नसुनेर भनी। विवेक आफ्नो रूममा गयो।
‘किन रिसाइरहनुभएको छ आमा अझै पनि?’ रम्मीले सोधी।
‘खै बजार पठाउन खोज्नुभएको रहिछ। मलाई नदेखेपछि रिस उठे होला!’ विवेक मुस्कुराउँदै भन्यो।
‘रम्मी, हामी बाहिर कतै बसेर पनि आमाको रेखदेख गर्न सक्थ्यौं नि पहिले बुद्धि नपुर्याएको परिणाम हो। मैले तिमीलाई उतिबेला नै भनेको थिएँ तर तिम्रो यही जिद्धी थियो।
सँगै बसेपछि ससाना कुरा हुने गर्छन् झिनामसिना कुरालाई सहज रूपमा लिनुपर्छ। विवेकले रम्मीलाई सम्झाउँदै भन्यो।
‘साँच्चै भन्नुस् न हजुर कहाँ जानुभएको थियो? रम्मीले बुझ्न खोजी।
‘रम्मी, आज आमाको जन्मदिन हो। म बजार आमाका लागि गिफ्ट लिन गएको हुँ।’ विवेकले भन्यो।
‘फेरि किन नभनेको त आँमासँग?’ रम्मीले सोधी।
‘मैले सरपराइज दिन खोजेको तर उहाँले मलाई पहिल्यै दिनुभयो।’ रम्मीको हातमा गिफ्ट थमाउँदै विवेकले भन्यो।
प्रकाशित: १६ फाल्गुन २०८१ १३:२२ शुक्रबार