तिरौ बेलैमा
ऋणको किस्ता आजैदेखि
तिरौ बेलैमा ...
यो टुक्का मंगलबार बागलुङमा आयोजना गरिएको सहकारी पुराणमा जिल्ला लोक भजन चुड्का संरक्षण समिति बागलुङका अध्यक्ष टेकबहादुर क्षेत्री संगमले प्रस्तुत गरेका हुन् । सधैं विभिन्न देवी देउताको नाममा बन्दना गर्दै भजन गाउने क्षेत्रीले मंगलबार भने सहकारी सचेतनाका भजन गाए । सहकारी संस्थाको सिद्धान्त अनुसार सहकारी संञ्चालनका लागि खबरदारीसंगै सदस्यको हितमा सहकारी चल्नुपर्नेसंगै सदस्यहरुले सहकारीलाई अगाडि बढाउनका लागि कर्जाको समयमा भुक्तानी गर्नुपर्ने लगायतका सहकारी चेतनामूलक गीतलाई उनले भजनको माध्यमबाट गाए ।
भजनको बीचमा उनले भने, ‘सहकारी भनेको सबै सदस्यको हो, त्यसैले सहकारीले सदस्यको हित सोच्नुपर्छ र सदस्यले सहकारीका हित सोच्नुपर्छ । समस्या भएका विषयहरुलाई आपसमा बसेर सुल्झाउनुपर्छ र सहकारीहरुलाई विश्वासिलो र भरपर्दो संस्था बनाउनुपर्छ । हामीले बचत गर्दा लिने व्याज र ऋण लिंदा तिर्ने व्याज हामी आफैले निर्धारण गर्ने हो । ’ उनले अगाडि टुक्का थपे, बचत गरेमा, आफुलाई नै सजिलो, बचत गरेमा ... । बागलुङ नगरपालिका—३ राधाकृृष्ण मन्दिर सभाहलमा उपस्थित भएका व्यक्तिहरु भजनमा छमछमी नाँचे र पण्डितहरुको सहकारी सम्बन्धी प्रवचनहरु ध्यान पूर्वक सुने ।
यो सबै तारतम्य बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेले मिलाएको हो । पछिल्लो समय केही सहकारीको गल्ती कमजोरीका कारण सबैलाई हेर्ने धारणा एउटै बनेको र लगानी गरेको ऋण पनि नउठेको कारण सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले सहकारी पुराणमार्फत् सहकारी उत्सव तथा सदस्य जागरण कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा प्रवचन दिँदै यतिराज आश्रम सहश्रधारा पर्वतका पिठाधिश्वर स्वामी नारायनाचार्यले पुराणले पनि सहकार्यमा जोड दिएको भन्दै वेद र पुराणले सहकार्यका लागि जोड दिएको उल्लेख गरे ।
‘हाम्रो शास्त्रले पनि भन्छ, १—१, ११ हुन्छ, सहकारी पनि १—१, ११ बनाउने संस्था हो,’उनले भने । नारायनाचार्यले साझा स्वार्थका लागि सहकारीको स्थापना भएको उल्लेख गरे । ‘भोलि केही दुःख पर्दा काम लाग्ला, दानपुण्य गरौंला भनेर आमाबुबाले सञ्चय गर्नुभएको छ, धर्मले पनि अर्थ सञ्चयलाई प्राथमिकता दिएको छ । मितव्ययी बनेर थोरै खर्च गर्नुपर्छ अरुलाई देखाउन खर्च गर्नेले जीवनभर दुःख पाउँछ,’उनले भने,‘धनको अर्थ बुझेर जोगाएकाहरुको त्यसप्रति लगाव हुन्छ । त्यो धन लगेर फिर्ता गरिएन भने उनीहरुको आँशुले कल्याण हुँदैन ।’
उनले अगाडि भने—‘मरेको छालाले हाइ हाइ गर्दा फलाम गलेको हामीले देखेका छौं । जिउँदो छालाले हाइ हाइ गर्दा हाम्रो के हालत होला ?’ अर्कालाई पिर पार्ने कार्य कसैले गर्न नहुने उनी बताउँछन् । ‘कर्जा नतिर्नेको कहिल्यै भलो हुँदैन, आँशुले पोल्छ,’उनले भने । वेद र पुराणमै पनि कसैको ऋण खानु, नतिर्नु पाप हो भनेर उल्लेख भएको कुरा प्रस्तुत गदैै सहकारीको कर्जा फिर्ता गर्न सन्देश प्रवाह गर्ने प्रयास गरिएको थियो । कार्यक्रममा पण्डित कृष्णप्रसाद शर्मा पौडेलले पनि प्रवचन गरेका थिए ।
केही सहकारीको बदमासीका कारण ऋण लगेकाले नतिर्ने र बचतकर्ताले सहकारी जति सबैलाई एउटै जस्तो ठानेर विश्वास नगर्ने वातावरण सिर्जना भएकाले धार्मिक पुुराणमार्फत् सचेत बनाउन कार्यक्रमको आयोजना गरिएको सिवाईसी बागलुका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले बताए । ‘हामीले कसैलाई जबरजस्ती गर्ने भन्दा पनि प्रेमले सबैलाई जित्नुपर्छ भन्नेमा लागेका छौं,’उनले भने,‘सहकारीको मर्म र उद्देश्य बुझाउनका लागि हामीले यो सहकारी पुराण राखेका हौं ।’
उनले ऋणीहरुलाई ऋण तिर्न प्रेरित गर्ने हिसाबले यो कार्यक्रमलाई अगाडि बढाउन खोजिएको बताए । ‘ऋणीहरु कसैको दिन खराब चलेको छ भने स्वस्ती शान्ति पनि होस्, जथाभावी फजुल खर्च गर्ने तर कर्जा नतिर्नेहरुको पनि बुद्धि फिरोस् भन्ने हाम्रो चाहाना छ,’उनले भने । धार्मिक रुपमा धर्मगुरुहरुको मुखारवृन्दबाट नै ऋण खानु राम्रो होईन भन्ने सन्देश दिंदा ऋणीहरु आफै प्रेरित भएर कर्जा भुक्तानी गर्न आउने उनको विश्वास छ ।
पछिल्लो पटक सहकारी विद्येयकले अब सहकारीको ऋणीलाई पनि कालोसूचीमा राख्ने व्यवस्था गरेको भन्दै सदस्यहरुको सामुहित हितका लागि खुलेको संस्थाले त्यो खालको स्थीतिमा पुग्न नपरोस् भनेर पहिले नै जागरुक बनाउन खोजिएको उनको भनाई छ । देशभरमा रहेका ३२ हजार सहकारीमध्ये पाँच सय एक हजार सहकारीले गरेको बदमासीको शिकार सबै सहकारी हुनुपरेको उनको गुनासो छ ।
‘देशभरीको ३२ हजार सहकारीमध्ये ३१ हजारले राम्रा काम गरेका छन् तर यहाँ त्यही हजार पाँच सय सहकारीले गरेको बदमासीले गर्दा सबैले दुःख पाउनु परेको छ,’उनले भने,‘त्यसैले सहकारी जागरणका लागि पनि यो काम हामीले गरेका हौं ।’ धौलागिरीमा २५ वटा सेवा केन्द्रबाट आफ्नो सेवा दिईरहेको यो सहकारीमा २५ हजार बढि सेयर सदस्य छन् ।
प्रकाशित: २६ चैत्र २०८१ १९:३९ मंगलबार





