५ चैत्र २०८१ मंगलबार
image/svg+xml ५:४१ पूर्वाह्न
कला

नेता जति सबै दलाल चोर लाग्छ मलाई!

मुक्तक

१) मुक्तक

कहिले आधा कहिले भरि यस्तै भएँ म

कहिले सुन कहिले जरी यस्तै भए म

लेख्दै मेट्दै गरिरहँदा जिन्दगीका कथा,

कहिले डस्टर कहिले खरी यस्तै भए म।

२) मुक्तक

मनमा सधैं आँधीबेरी हुरी चलाउनेले

यौवन लुटेपछि भेट्न दूरी चलाउनेले

मलाई अहिले घरको न घाटको बनायो,

मुखले राम व्यवहारमा छुरी चलाउनेले।

३) मुक्तक

प्रेम प्रतीक एक गुलाफ रोपी राख्नु छ

हरेक दिनलाई प्रणयले छोपी राख्नु छ

तिमी र म एक भएर बनी नवशिला,

तिम्रो नाम यो मुटुभित्र खोपी राख्नु छ।

४) मुक्तक

राखी मनमा रिसको घेरो व्यर्थै घमण्डले

देखाउँछौ यो सेरोफेरो व्यर्थै घमण्डले

मरेपछि घाटमा जाँदा कात्रोले हो बेर्ने,

केलाई गर्छौ तेरोमेरो व्यर्थै घमण्डले।

५) मुक्तक

मुनामदन जस्तो हुन्छ देखाइदिन मन छ

महँगो कि सस्तो हुन्छ देखाइदिन मन छ

कुरा काट्दै हिंड्नेहरूलाई तिम्रो-मेरोबारे,

माया पिरिम कस्तो हुन्छ देखाइदिन मन छ।

६) मुक्तक

किन होला देख्यो कि त बोर लाग्छ मलाई

लुटेरा र भ्रष्ट हरामखोर लाग्छ मलाई

जनतालाई चाहिँ रुवाएर आफ्नै भुँडी भर्ने,

नेता जति सबै दलाल चोर लाग्छ मलाई।

७) मुक्तक

एक अर्काको सम्मान सत्कार बनाउनु छ

सबै अट्ने सुन्दर शान्त घार बनाउनु छ

अग्रज लेखक साहित्यकार स्रष्टा अटाउने,

अब हामीले छुट्टै एउटा आधार बनाउनु छ।

८) मुक्तक

जून झार्ने कुरा गर्छन् तारा झार्ने कुरा गर्छन्

विश्व ब्रह्माण्ड अनि सारा झार्ने कुरा गर्छन्

विवाह भएको केही समय बित्दै गएपछि,

चुम्मा चाटी गर्नेले बङ्गारा झार्ने कुरा गर्छन्।

९) मुक्तक

भ्रष्ट दलाल माँस्ने छडी बन्न सकोस् प्रजातन्त्र

चारै प्रहर घुम्ने घडी बन्न सकोस् प्रजातन्त्र

समानता र एकताको नारालाई घन्काउदै,

सबै जनता बाँच्ने कडी बन्न सकोस् प्रजातन्त्र।

१०) मुक्तक

नियम कानून सबै निर्धामाथि प्रहार बन्छ यहाँ

गरिव मर्ने  धनीमाथि उठ्ने आधार बन्छ यहाँ

मतलव छैन जनताको, नेता भ्रष्टचारमा मस्त,

दलालहरू मिलीजुली खाने सरकार बन्छ यहाँ।

- नवराज पोखरेल नवशिला

प्रकाशित: ८ फाल्गुन २०८१ १३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App