विवाहपछि पुरुषको तौल बढ्ने कुरालाई धेरैले ठट्टा बनाउँछन्। कतिपयले श्रीमतीले माया मिसाएर बनाएको खानाले यस्तो हुन्छ भन्छन्। तर, अनुसन्धानले यो सामान्य कुरा नभएर ठूलो समस्या भएको देखाएको छ।
बाथ विश्वविद्यालयकी अनुसन्धानकर्ता जोआना सिर्डाले गरेको अध्ययनले यो कुरा पुष्टि गरेको छ। यो अध्ययनमा ८ हजार ७०० भन्दा बढी पुरुषको तथ्यांक हेरिएको थियो। तथ्यांक अमेरिकाको प्यानल स्टडी अफ इन्कम डाइनामिक्स (पीएसआईडी) बाट लिइएको हो, जहाँ प्रत्येक दुई वर्षमा पुरुषको आय, उमेर र शारीरिक तौल जाँचिएको थियो।
अध्ययनले के देखायो?
अध्ययनमा २४ प्रतिशत पुरुष विवाहित थिए, १२ प्रतिशतको सम्बन्धविच्छेद भएको थियो भने ३९ प्रतिशत बुबा बनेका थिए। विवाहित पुरुषको तौल अविवाहितको भन्दा औसतमा ३ पाउन्ड बढी थियो।
बच्चा जन्मेपछि पहिलो केही वर्षमा पुरुषको तौल थोरै बढेको देखियो। तर, सम्बन्धविच्छेद हुनुअघि र पछि तौल घटेको पाइयो। अनुसन्धानकर्ता सिर्डाका अनुसार यो तनावसँग जोडिएको हुन सक्छ। उनले भनिन्, ‘अविवाहित पुरुष जीवनसाथी खोज्न फिट रहन खोज्छन्, तर विवाहपछि खानपिन र सामाजिक भेटघाट बढ्दा तौल बढ्छ।’
पोल्याण्डको अध्ययन
पोल्याण्डको राष्ट्रिय कार्डियोलोजी संस्थानको अर्को अध्ययनले पनि यस्तै कुरा देखायो। यो अध्ययनमा २ हजार ४०५ जनाको तथ्यांक संकलन गरिएकाे थियाे। तथ्यांकमा धेरैजसो ५० वर्षभन्दा माथिका थिए। ३५.३ प्रतिशत सामान्य तौलका, ३८.३ प्रतिशत बढी तौलका र २६.४ प्रतिशत मोटोपन भएका थिए।
साे अध्ययनमा विवाहित पुरुषमा मोटोपनको जोखिम ६२ प्रतिशत बढी थियो भने महिलामा ३९ प्रतिशत बढी देखिएकाे थियाे। उमेर बढ्दै जाँदा पुरुषको तौल हरेक वर्ष ३ प्रतिशत र महिलाको ४ प्रतिशतले बढ्ने गरेकाे पाइएकाे छ। मोटोपनको जोखिम पुरुषमा ४ प्रतिशत र महिलामा ६ प्रतिशतले बढ्ने गरेको छ।
तौल बढ्नुको कारण
विज्ञहरूका अनुसार विवाहपछि पुरुषको जीवनशैली बदलिन्छ। धेरै खाने, सामाजिक भेटघाट बढ्ने र व्यायाम कम हुने कारणले तौल बढ्छ। ओबेसिटी हेल्थ एलायन्सकी निर्देशक क्याथरिन जेनर यो व्यक्तिको छनोट मात्र नभएर सामाजिक र मनोवैज्ञानिक कारणले पनि हुने तर्क गरिन्। पोल्याण्डको अध्ययनले पनि यही कुरालाई बल दिएकाे छ।
के गर्ने?
प्रायः मानिसलाई मोटोपन मन पर्दैन्। तौल कम गर्न बोसो कम भएको खाना खाने, सन्तुलित आहार लिने, नियमित व्यायाम गर्ने र राम्रो निद्रा लिन विज्ञहरूको सुझाव छ। अनुसन्धानकर्ता सिर्डाले यो परिवर्तन ठूलो नभए पनि सचेत भएर स्वस्थ बानी बसाल्दा कम गर्न सकिने बताइन्। अध्ययनहरूले देखाउँछन् कि विवाह र बच्चा जन्मेपछि पुरुष र महिलाको तौल बढ्न सक्छ। तर, समयमै ध्यान दिएर जीवनशैली सुधार्दा यसलाई रोक्न पनि सकिन्छ। एजेन्सीको सहयोगमा
प्रकाशित: २ चैत्र २०८१ १७:१८ शनिबार