५ चैत्र २०८१ मंगलबार
image/svg+xml ४:१ पूर्वाह्न
खेल

एपिएफले जित्यो राष्ट्रिय महिला कबड्डी उपाधि

विभागीय प्रतिद्वन्द्वी हराउँदै एपिएफले राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको २०औं संस्करणको उपाधि उचालेको हो। आइतबार सम्पन्न फाइनलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई २८–२२ अंकले हराउँदै उपाधि जितेको हो। निकै रोमाञ्चक भएको फाइनलमा आर्मीले खेल सकिन केही समय मात्र बाँकी छँदा अग्रता लिएको थियो। 

आर्मीले २०–१७ अंकले अग्रता लिए पनि जोगाउन नसक्दा नतिजा सुम्पिन पुगेको हो। एपिएफले आर्मीकी रेडर गंगा घिमिरेलाई रोक्दै खेलमा फर्किने प्रयास गरेको थियो र सफल पनि भयो। उनलाई उत्कृष्ट ट्याकल गर्दै एपिएफले २०–२० को बराबरी ग¥यो। यहाँबाट एपिएफले अग्रता लिँदै आर्मीमाथि पूर्ण दबाब पनि बनायो। यो अग्रता कायम राख्दै आर्मी जित निकाल्न सफल भयो।

त्यसअघि आइतबार नै भएको दोस्रो सेमिफाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३३–२८ अंकले हराउँदै उपाधि भिडन्त तय गरेको हो। आर्मीले भने सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ४२–१८ अंकले सहजै हराउँदै फाइनलमा स्थान बनाएको थियोे। प्रतियोगिताको विजेता एपिएफले दुई लाख, आर्मीले एक लाख र सेमिफाइनलमा पराजित भएका पुलिस र सुदूरपश्चिम प्रदेशले समान ५० हजार रूपैयाँ पाए। विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र अखिल नेपाल कबड्डी संघका पदाधिकारीले पुरस्कृत गरेका थिए। यस प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेशले प्रतिस्पर्धा गरेका थिए।

यस प्रतियोगिताबाट जुनमा हुने विश्वकपका लागि खेलाडी छनोट गरिने भएको छ। प्रतियोगिताको उत्कृष्ट रेडर पुलिसकी मानमती विष्ट र उत्कृष्ट डिफेन्डर एपिएफकी जयन्ती बडु भए। यस प्रतियोगिताभर मानमतीले सर्वाधिक ७७ अंक र एपिएफकी जयन्ती बडुले २३ अंक दिलाएका थिए। यी दुवैले पुरस्कारस्वरूप ४० इन्चको टिभी पाएको अखिल नेपाल कबड्डी संघका महासचिव अरबिन्द झाले जानकारी दिए। 

प्रकाशित: ४ चैत्र २०८१ ०७:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App