निजामती कर्मचारी अस्पताल सात सय शय्यामा विस्तार गर्ने गरी कार्ययोजना अघि बढेको छ। हाल तीन सय शय्यामा सञ्चालित अस्पताललाई आगामी चार वर्षभित्र सात सय शय्यामा विस्तार गर्ने कार्य सम्झौता अघि बढिसकेको अस्पताल प्रशासनले जनाएको छ।
आइतबार अस्पतालमा नयाँ निर्देशकको स्वागत कार्यक्रमका अवसरमा निवर्तमान निर्देशक विद्यानिधि पौडेलले जानकारी दिएका हुन्। उनले आफ्नो चारवर्षे कार्यकालमा गरेका सफल कार्य र गर्न बाँकी कार्यका बारेमा पनि बताए।
सोही अवसरमा नवनिर्देशक डा. मोहनचन्द्र रेग्मीले बाँकी कार्य आफ्नो कार्यकालमा पूरा हुने बताए। यी कार्य पूरा गर्न अस्पतालमा बन्न बाँकी ऐनमा केन्द्रित हुने बताए। यी कार्य पूरा गर्न नागरिकलाई अनुभूति हुने गरी काम गर्ने सोच रहेको र यसका लागि सबैको सकारात्मक भूमिकाको अपेक्षा रहेको बताए। ‘ठूलो कुरा गर्नेभन्दा पनि ससाना काममा सुधार गर्दै जाने छु’, उनले भने। यसका साथै सेवामा गुणस्तर कायम गर्ने र नागरिकका अपेक्षामा निराशा नहुने गरी काम गर्ने उनले बताए।
पौडेलका अनुसार चार वर्षभित्र निर्माण सम्पन्न गर्ने चीन सरकारसँग सम्झौता भएको बताए। हाल अस्पतालमा रहेको तीन सय शय्यालाई चार सय शय्या थप गरेपछि यो अस्पताल सात सय शय्याको बन्ने छ। अस्पताल विस्तारका लागि चीन सरकारले आठतलाको दुइवटा भवन निर्माण गर्दै छ। भविष्यमा यो अस्पतालमा जीन परीक्षण हुने ल्याब सञ्चालन हुन लागेको उनले बताए। जोनोल्याब जहाँ वंशाणुगत कारणले रोगको पहिल्यै पहिचान हुन्छ, जुन यस अस्पतालमा मात्र छ ।
पौडेलले भविष्यमा मुटु र फोक्सो प्रत्यारोपण केन्द्र विकास गर्ने गरी योजना अघि बढेको बताए। उनका अनुसार विभिन्न विशिष्ट विषयमा अध्यापन विस्तारको कार्य अघि बढ्ने छ। आफ्नो कार्यकालमा सेवा विस्तार गरिएको छ। युरोगाइनोकोलोजी, १० शय्याको एचडियु, १२ शय्याको आइसियु, एनआइसियु, ११ वटा हेमोडाइलोसिस सेवा, लिन्याक मेसिन जडान गरी रेडियोथेरापी सेवा सञ्चालनमा लिएको, युरोगाइनोकोलोजी सेवा, अन्कोलोजी सेवा, एक वर्षदेखि डेक्सा स्क्यान सेवा (हड्डीको स्थिति हेर्ने मेसिन) थ्री तेस्लाको एमआरआइ मेसिन, छरितो र पर्याप्त प्रयोगशाला सेवा विस्तार भएको छ।
यी सेवा विस्तारसँगै अस्पतालको अर्थतन्त्रमा सुधार भएको उनले जानकारी दिए। प्राज्ञिक अध्ययनतर्फ एमडी, एमएस विस्तार भएको छ। गत माघदेखि अस्पतालमा चिनियाँ परम्परागत चिकित्सा वैकल्पिक चिकित्सा पद्धति सेवाका रूपमा सुरु गरिएको छ। हालै चीन सरकारबाट आँखा सेवा विस्तारका लागि दुई करोड ७५ लाख रुपैयाँ बराबरको उपकरण प्राप्त भएको छ।
यसले आँखा सेवामा परिवर्तन हुने उनले बताए। अस्पतालमा विभिन्न विशेषज्ञ सेवाले बिरामीको आकर्षण र विश्वास बढेको डा. पौडेलले बताए। पौडेलकै कार्यकालमा लामो समयदेखि करारमा कार्यरत कर्मचारीलाई लोकसेवा प्रक्रियाबाट स्थायी गर्ने कार्यले कर्मचारीलाई हौसला प्राप्त भएको र उनीहरूको सेवा–सुविधा सरकारी कर्मचारीसरहको रहेको छ।
‘प्रयोगशालामा पनि पालो पर्खनु पर्दैन। बिरामीको इन्भेस्टिगेसन छिटो हुन्छ’, उनले भने। हाल यो अस्पतालमा बहिरंग विभागमा १२ सय जना बिरामी आउने गरेको र अस्पतालको अन्तरंग सेवा ७० प्रतिशत सधैं भरिभराउ हुने गरेको छ। यो अस्पतालले १५ वर्षदेखि सेवा दिँदै आएको छ।
प्रकाशित: ४ चैत्र २०८१ १०:०९ सोमबार