१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

ओलम्पिक तयारीमा सदस्य–सचिव घिसिङको चासो

पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीहरूसँग राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले तयारी बारे चासो राखेका छन् ।ओलम्पिकका लागि बन्द  प्रशिक्षणमा रहेका खेलाडीहरूको तयारी र सरकारका तर्फबाट गर्नु पर्ने कामका विषयमा छलफल गरेका हुन।

साउन ११ गते देखि २७ गते सम्म आयोजना हुने ओलम्पिकमा नेपालका तर्फबाट सहभागी हुने सात जना खेलाडीहरू मध्ये नेपालमै बन्द प्रशिक्षणमा रहेका खेलाडी तथा सम्बन्धित प्रशिक्षकहरुसंग भएको छलफलमा सदस्य–सचिव घिसिङले तयारीका लागि कुनै कमी हुन नदिने बताए । खेल सामाग्री, खेल पोसाक, प्रशिक्षणको तालिका सम्बन्धमा सदस्य–सचिवले चासो राखेका थिए।

देशले ठुलो आशा र भरोसा गरेको भन्दै खेलाडीहरूलाई उच्च मनोबलका साथ तयारी र प्रतिस्पर्धाका लागि सदस्य– सचिव घिसिङले सुझाव दिए। स्वास्थ्यलाई विशेष ख्याल गर्न सुझाव दिनु हुँदै सदस्य–सचिव घिसिङले उचित प्रबन्ध मिलाउन सम्बन्धित सङ्घहरूलाई निर्देशन समेत दिएका छन्।

खेलाडीले आफूहरूलाई घरबाटै ट्रेनिङमा आउन सहज भएको भन्दै बन्द प्रशिक्षण निकै उपलब्धिमूलक भएको बताएका छन् । प्रशिक्षकहरूले खेलाडीहरूको प्रशिक्षण तालिम, खुराक, खेल सामाग्री व्यवस्थापनका विषयमा जानकारी दिएका  थिए । 

प्रशिक्षणमा रहेका खेलाडीहरुले बिहान–बेलुका दैनिक ५ घण्टा बढी प्रशिक्षण गरी रहेको राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले जानकारी दिए ।

छलफलमा नेपालमै बन्द प्रशिक्षणमा रहेका एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ र प्रशिक्षक कान्ति महतो, जुडो  खेलाडी मनिता श्रेष्ठ प्रधान र प्रशिक्षक देवु थापा तथा  सुटिङ खेलाडी सुस्मिता नेपाल र प्रशिक्षक प्रदीप खाती सहभागी थिए ।

पेरिस ओलम्पिकमा यस पटक नेपालबाट सहभागी हुने सात जना खेलाडी मध्य टेबल टेनिसका स्यान्टु श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, पौडीका डुवाना लामा र एलेकजेण्डर शाह वैदेशिक प्रशिक्षणमा रहेको निर्देशक विष्टले जानकारी दिए।

छलफलमा परिषद्का सदस्य प्रकाशकुमार कुसारी र राष्ट्रिय टिम तयारीका उपनिर्देशक दीपक श्रेष्ठको पनि उपस्थिति थियो।

प्रकाशित: २३ असार २०८१ २०:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App