१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

तन्नेरीहरू बाँझो बगर कोतर्दै

प्युठान नगरपालिका–१ खैराका माधव आचार्य बुटवल पावर कम्पनीको बाँझो जग्गामा रोपाइँ गर्दै छन् । बन्दाबन्दीले अन्नलगायत खाद्य उपजमा भएको महँगी सम्झिएर उनी चार रोपनी बाँझो जमिनलाई खेतीयोग्य बनाउन लागेका हुन् ।

‘कमाउने र किन्ने कसरी भन्ने चिन्ता छ,’ कृषक आचार्यले भने, यही बाँझो जमिनमा खेती गरे पनि उब्जेपछि त केही दिन धान्ला ।’    

आचार्यसँगै गाउँका कृषक सोही ठाउँमा रहेको बाँझो बगरमा खेती गर्न व्यस्त छन् । वर्षौंदेखि खाली जमिनमा यस वर्षदेखि खेती गर्न थालिएको छ । रोजगारीका लागि विभिन्न मुलुकमा गएका तन्नेरीहरु यसपटक गाउँ फर्केपछि बाँझो जमीनमा कृषि हतियार चल्न थालेका हुन् ।      

झिमरुक जलविद्युत् उत्पादन केन्द्रमा पानी लैजानका लागि बनाइएको ड्याम साइट नजिक करिब ३५० रोपनी जमीन २०४८ देखि बाँझो रहँदै आएको छ । किसानले खेती गर्न थाल्दा कम्पनीले रोकेपछि जमिन बाँझो बन्दै गएको थियो । साठीभन्दा बढी कृषकले यस वर्ष खेती गर्न लागेको बुटवल पावर कम्पनीका पूर्वकर्मचारी भोजबहादुर बस्नेतले जानकारी दिए ।      

त्यसैगरी प्युठान–१० मरन्ठानाको वडरामा जग्गा बाँझो रहेको १४ वर्षपछि खेती हुन थालेको छ । चार युवाले करिब  १७ रोपनीमा खेती गरेको प्युठान–७ टिकुरीका राजन केसीले बताए उनका अनुसार जमिनमा चार जना युवाले निःशुल्क रुपमा जग्गाधनीको सहमतिमा खेती गर्न थालेका हुन् । ‘पहिलो वर्ष खेतीयोग्य बनाउँदै सामान्यबाट शुरुआत गरेका छौं ।’

बाँझो जमिन खनेर मकैसँगै भटमास, बोडी, तिल र रहर खेती गरिएको हो । खाली जमिन सदुपयोग गर्दै उत्पादन लिन र आय वृद्धि गर्न खेती गरिएको र अर्को याममा तरकारी खेती गर्ने योजना रहेको केसीको भनाइ छ ।      

स्थानीयवासी धीरेन्द्र पण्डित, पशुपति पण्डित र निरन्जन जिएमले झिमरुक खोलाको बगरमा खेती गर्न थालेका हुन् । चौध वर्ष पहिले झिमरुकमा आएको बाढीले कुलो बगाएर खेतीयोग्य जमिन बाँझो बनेको थियो ।      

बन्दाबन्दीका कारण युवाको कृषिमा आकर्षण बढ्न थालेको छ । प्युठान नगरपालिकाका खैरा, मन्ठाना, बिजुवार, धर्मावती र जुम्रिकाँढाका युवाले वर्षौंदेखि बाँझिएको जमीनमा खेती गरिरहेको प्युठान नगरपालिकाका कृषि शाखा प्रमुख मेघराज पोख्रेलले जानकारी दिए । एक गाउँ एक कृषि प्राविधिकअन्तर्गत नगरपालिकाका १० वडामा ६ प्राविधिकले कृषि परामर्श गरिरहेका छन् ।  

‘सबै वडामा बाँझो रहेको भूमिमा खेती गर्न प्राविधिकले परामर्श गरिरहनुभएको छ,’ पोख्रेलले भने, ‘बन्दाबन्दीले युवामा नयाँ जोंस र कृषि पेसामा आकर्षण थपेको छ ।’

नगरपालिकाका बाँझो जमीनमा खेती गर्ने कृषकलाई बीउ आदिमा प्रोत्साहन गरिने भएको छ । पोख्रेलका अनुसार यस वर्ष नगरपालिकाका करीब ६ सय रोपनी बाँझो जमिन खनेर खेती गरिँदै छ । 

प्रकाशित: २२ जेष्ठ २०७७ ०४:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App