११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

नारायणघाट-बुटवल सडक : साना पुल निर्माण सम्पन्न

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको पूर्वी खण्डमा निर्माण हुने सबै साना पुलको निर्माण सकिएको छ। गैँडाकोट–दाउन्ने खण्डमा रहेका २२ साना पुल निर्माण सम्पन्न भएका हुन्। 

योजना सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार २५ मिटरभन्दा छोटा पुललाई साना र लामालाई ठूला पुलको रूपमा वर्गीकरण गरिएको छ। ‘निर्माण भएका साना पुलमध्ये धेरैमा सवारी सञ्चालन भइसकेको छ,’ उनले भने, ‘दुई ठूला पुल पनि सञ्चालनमा छन्।’ यस खण्डमा १२ ठूला पुलमध्ये पाँचवटा निर्माण सकिएका छन्। 

निर्माण सकिएका केही पुलमा पहुँच मार्ग बन्न बाँकी रहेकाले सवारी सञ्चालन हुन नसकेको खनालले बताए। आगामी असारसम्म थप तीन ठूला पुल निर्माण सकिने उनले जानकारी दिए। ‘गैँडाकोटको जयश्री, बेल्डिहा, मध्यविन्दुको गिरुबारी र अरुणखोला पुलबाहेक सबै पुल असारसम्म सकिन्छन्,’ उनले भने, ‘यी चार पुलका जनशक्ति र उपकरण अहिले विनयी खोलाको पुल निर्माणमा खटिएकाले तीमा ढिलाइ हुने भएको छ।’ 

केही साताअघि विनयी खोलाको पुरानो पुल भाँचिएपछि यातायातमा समस्या आएकाले नयाँ पुल निर्माणमा जनशक्ति केन्द्रित भएको खनालले बताए। गैँडाकोट–दाउन्ने ६५ किलोमिटर सडकमा ५२.५ किलोमिटर कालोपत्रे भइसकेको छ। ‘पुल, चोरमारा बजार, दुम्कीवास र दाउन्नेमा कालोपत्र बाँकी छ,’ उनले भने, ‘दाउन्नेको ४ किलोमिटरबाहेक अन्य ठाउँमा यो वर्षा अगाडि कालोपत्र सक्ने गरी काम भइरहेको छ।’ 

यस खण्डको चैत मसान्तसम्मको प्रगति ६३ प्रतिशत छ। नारायणघाट–बुटवल ११४ किलोमिटर सडकलाई गैँडाकोट–दाउन्ने (६५ किलोमिटर) पूर्वी खण्ड र दाउन्ने–बुटवल (४९ किलोमिटर) पश्चिम खण्डमा विभाजन गरी चार लेनमा विस्तार भइरहेको छ। सहरी क्षेत्रमा दुवैतर्फ सर्भिस लेन र दाउन्नेको १४ किलोमिटर सडक तीन लेनमा विस्तार हुनेछ। 

चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशन लिमिटेडले २०७५ माघमा सम्झौता गरी २०७६ चैत ८ देखि काम सुरु गरेको थियो। रुख कटान, बिजुलीको पोल स्थानान्तरण, निर्माण सामग्रीको अभाव, कोभिड–१९ लगायतका समस्याले ढिलाइ भएको भन्दै कम्पनीले म्याद थप गर्दै आएको छ। ४२ महिनामा (२०७९ साउन) सक्ने लक्ष्य राखिएको सडकको तेस्रोपटक थपिएको म्याद आगामी असारमा सकिँदैछ। रासस

प्रकाशित: ३ वैशाख २०८२ ०८:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App