३ वैशाख २०८२ बुधबार
image/svg+xml ८:५२ पूर्वाह्न
समाज

कोपिलामै चुडिन्छन् गुराँस

चैत लाग्यो, वैशाखको ढोकामा गुराँसको रंग। हिउँले भिजेका भीर पाखा अलिकति तापिँदा जुम्लाको बन फेरि पनि राताम्य हुने आस गरिन्छ। तर यसपालि भने आस बाझिन थालेको छ।

‘‘नटिप्नु हेर कोपिला ! नचुँड्नु पाप लाग्दछ, नच्यात्नु फूल नानी हो ! दया र धर्म भाग्दछ।’’ बाल्यकालमा सुनिएका यी वाक्यहरू आज फुस्रिएका देखिन्छन्। अहिले त कोपिलामै चुँडिन्छ गुराँस- फूल बन्न नपाउँदै हातको लप्कामा हराउँछ गुराँस।

जुम्लाको चन्दननाथ–३ बागदुली वन कहिल्यै मलजल नगरे पनि कसैले स्याहार–सुसार नगरे पनि, लालीगुराँस आफै फुल्थ्यो, आफै बनलाई चिटिक्क बनाउँथ्यो। सिजनमा त्यहाँ राताम्य ढाकिन्थ्यो, पर्यटकको खुट्टा थामिँदैनथ्यो। अहिले त्यहाँ न त फूल बाँकी छ, न त्यो दृश्य।

स्थानीय कृष्णबहादुर बुढा थापा भन्छन्, ‘‘६ वर्षअघि यहाँ गुराँसले वनै रातो बनाउँथ्यो। अहिले फुल्ने मौका नै पाउँदैन कोपिलामै चुँडिन्छ।’’ डाँडाकोटका हरिबहादुर सार्कीको गुनासो अझ चर्को छ, ‘‘अब गुराँस हेर्न भीरमा चढ्नुपर्छ। हातले पुग्ने हाँगा सबै फुल्न नपाउँदै छिनिन्छ।’’

पर्यटकहरूको भीडले फूल झन् मूल्यवान् बनेको होला। फोटो खिच्ने उत्साहले गुराँसलाई प्रसिद्ध बनाएको होला। तर संरक्षणबिना त्यो प्रसिद्धि बोझ बन्छ। अहिले स्थिति त्यहीँ पुग्दै छ।

विद्यार्थीदेखि युवायुवतीसम्म, वन जान्छन्- फूल हेर्न हैन, बोक्न। हरेकको हातमा ५–७ हाँगासहित फर्किने गुराँस अब लाजले झुलेको देखिन्छ।

जुम्लाको ८ वटै स्थानीय तहमा फुल्ने गुराँस अब दबिँदै छ। समुद्री सतहदेखि १५००–३००० मिटर उचाइमा पाइने गुराँसको रातो, सेतो चिमाल, सुनपाती प्रजाति अब सिंगो जङ्गलभित्र होइन- भीरकुना र कुना खोजी गर्नुपर्ने स्थिति छ।

दाउरा काट्ने बहानामा गुराँसकै रुख मासिन्छ। संरक्षणको नाममा नीति छैन, स्थानीय सर्त छैन, शिक्षाको कमी छ। गुराँस हाम्रो राष्ट्रिय फूल हो भन्ने थाहा हुँदा–हुँदै पनि व्यवहारमा त्यो सम्मान हराउँदै छ।

प्रकाशित: ३० चैत्र २०८१ १५:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App