आगामी वैशाख ५ गतेदेखि आठौं राष्ट्रिय महिला तथा पुरुष स्केटबोर्ड प्रतियोगिता हुने भएको छ।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा टोखाको स्केटर्स नेपाल स्केटपार्कमा दुई दिने प्रतियोगिता हुन लागेको हो। नेपालमा सन् २०७० सालमा नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएदेखि निरन्तर विभिन्न प्रतियोगिताहरू हुँदै आएका छन्।
मंगलबार संघले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो। यस प्रतियोगितामा फ्रिस्टाइल विधामा बेस्ट ट्रिक र बेस्ट रन खेलाइने संघका अध्यक्ष अच्यूत खनालले जानकारी दिए। यसअघि विराटनगर, बुटवल, पोखरा र काठमाडौंमा विभिन्न राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता सम्पन्न भइसकेका छन्।
काठमाडौंमा दोस्रो पटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हो। नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेलप्रति रुचि राख्ने धेरै युवा पुस्ता बढेसँगै राष्ट्रव्यापी रूपमा जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका कार्यक्रम गर्दै आइरहेको संघले जनाएको छ। यस राष्ट्रिय स्केटबोर्ड प्रतियोगितामा कुल २५० जना पुरुष र १५० जना महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
वैशाख ५ गते छनोटचरणको खेल हुने र फाइनल प्रतिस्पर्धा हुने तय गरिएको छ। पुरुष र महिला दुवैतर्फ प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १५ हजार नगदसहित पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। यस प्रतियोगिताबाट छनोट भएका खेलाडीले कोरियामा हुने एसियन रोलर स्पोट्र्स च्याम्पियनसिपमा सहभागिता जनाउने संघका अध्यक्ष अच्युत खनालले जानकारी दिए।
प्रकाशित: ३ वैशाख २०८२ ०८:३२ बुधबार





