२७ चैत्र २०८१ बुधबार
image/svg+xml ११:५८ पूर्वाह्न
समाज

माटो र बालुवाको तस्करी बढेपछि खानी बन्द

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीस्थित नालारोड आसपासको क्षेत्र माटो र बालुवा तस्करको ‘इपीसेन्टर’ बनेको छ। दिनभर सुनसान हुने त्यहाँस्थित खानीमा रात परेपछि भने धमाधम माटो र बालुवा तस्करी हुने गरेको देखिएको छ। तस्करी बढेपछि बुधबार चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी अनुगमनमा पुगेका छन्। अनुगमनपछि जथाभावी माटो तस्करी भइरहेका खानीहरू सिल गरिदिएको छ। नगर प्रहरीसहित पुगेका उनले विभिन्न ती ठाउँका गेटमा ताला लगाएर बन्द गरिदिएका हुन्।

दर्जन नगर प्रहरीका साथ अनुगमनमा पुगेका उनको टोलीले सिक्री पनि बोकेर गएको थियो। डोजर सिल गर्नका लागि मोटोमोटो फलामका सिक्री लिएर गएको तस्कर हुने ठाउँमा पुगेको थियो। तर कहींकतै डोजरमाथि सिल लगाउन पाएनन्। ‘हामी अनुगमनमा आउने सूचना पहिल्यै चुहिसकेको रहेछ’, उपप्रमुख बुढाथोकीले भने, ‘हामी पुगेको पाँच–सात मिनेटअगाडि मात्रै सबै डोजर भाग्न भ्याइसकेका थिए।’

ताथलीस्थित नालारोड आसपास क्षेत्रमा मात्रै आधा दर्जनभन्दा धेरै स्थानमा रातभर अवैध रूपमा खानी सञ्चालन भइरहेको स्थानीयले बताए। काठमाडौं क्यान्सर सेन्टर र देवी मावि आसपारका क्षेत्रमा त कुनै ठूलो राष्ट्रिय गौरवको आयोजना सञ्चालन भएजस्तै गरी अवैध रूपमा माटो र बालुवा उत्खनन हुने गरेको देखिन्छ।

काठमाडौं क्यान्सर सेन्टरले माटो ओसार–पसार गर्न आफ्नो गेट नै प्रयोग गर्न दिएको पाइएको छ। दिनभर ताला लाग्ने अस्पतालको सहायक गेट रात परेपछि मात्र खुल्ने गरेको स्थानीयको आरोप छ।

चाँगुनारायण नगरपालिकाले फागुन २५ गते सूचना नै जारी गरी घर निर्माणका लागि नक्सा पेस भएको अवस्थामा बाहेक घर घडेरी सम्याउने नाममा माटो ओसार–पसार गर्न अनुमति नदिने र गरेको पाइए कारबाही गर्ने भनी भएको निर्णयसमेत सार्वजनिक सूचना प्रकाशन गरेको थियो, तर माटो र बालुवा ओसार–पसारमा संलग्नले भने उपप्रमुख रमेश बुढाथोकीको नाम बदनाम गर्दै अवैध रूपमा काम गर्दै आएको सुनिएपछि उपप्रमुख बुढाथोकी अनुगमन दलबलसहित पुगेका थिए।

यसअघि पनि यस्ता ठाउँमा अनुगमनलाई तीव्र पारे पनि नगरपालिकाभित्रैबाट सूचना चुहिँदा अनुगमनमा गएका नगर प्रहरी रित्तै हात फर्कन बाध्य हुने गरेको बताइएको छ। पछिल्लो समय चाँगुनारायण नगरपालिकाको वडा नं ९ मा मात्रै नभई वडा नं १, ३, ४ लगायतका क्षत्रेमा पनि रातको समयमा अवैध रूपमा माटो र बालुवा तस्करी हुने गरेको छ।

यता, स्थानीयले भने स्थानीय सरकारको नेतृत्व गरिरहेका जनप्रतिनिधि, प्रहरी प्रशासन, नगरपालिकाका कर्मचारीकै मिलेमतोमा अवैध रूपमा माटो र बालुवा ओसार–पसार भएको आरोप लगाउँदै आएका छन्।

प्रकाशित: २१ चैत्र २०८१ ०९:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App