नेपाली लघुकथा सर्जकहरूसँग भेटघाट, वार्ता र लघुकथा केन्द्रित संवादका माध्यमद्वारा लघुकथाको उन्नयनमा सहयोग पुर्याउने उद्देश्यले प्रारम्भ गरिएको लघुकथा अभ्यास ‘विलोम’ को आठौं अभ्यास सम्पन्न भएको छ।
‘विलोम’ को उद्देश्यअनुरूप आठौं भेटघाट आख्यानकार एवं कवि महेश प्रसाईसँग भएको हो।
लघुकथा केन्द्रित कुराकानी गर्ने क्रममा यस अभ्यास अन्तर्गत स्रष्टा प्रसाईसँग तीन घण्टा जति नेपाली लघुकथाको विगत, वर्तमान र भविष्य तथा अन्य विविध विषयमा समेत छलफल गरिएकाे थियाे।
यसपटकको अभ्यासमा प्रसाईसँग लघुकथाका हकमा लघुकथा के हो र कस्तो हुनुपर्छ, लघुकथा लेखनको विगत र वर्तमान एवम् लघुकथा लेखनमा देखापरेका पछिल्ला प्रवृत्ति तथा लेखनको धार, लघुकथाले समेटेका विषय, लघुकथाको स्तरीयता तथा लघुकथाको भविष्य र उनको लेखनबारे विस्तृत कुराकानी भएको थियो।
लघुकथाकार त्रयविनोद नेपाल, दीपक लोहनी र ममता मृदुलले चलाएको ‘विलोम’ नामक यस अभ्यास प्रसाईको निवास, नरेफाँट,काठमाडौमा भएको हो। विलोम अभ्यास २०७९ साल फागुनदेखि प्रारम्भ गरिएको हो। यस अन्तर्गत हालसम्म अशेष मल्ल, कणाद महर्षि, ध्रुव मधिकर्मी, भागिरथी श्रेष्ठ, राजव, विधान आचार्य र पुष्कर लोहनीसँग लघुकथासम्बन्धित वार्ता गरिएको छ।
प्रकाशित: २७ चैत्र २०८१ १०:५६ बुधबार





