११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

वर्ष २०८१ का अकल्पनीय विपद् : जलवायु सङ्कटको गहिरो चोट

गत असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल नजिक सिन्दुरे खोल्सीमा लेदोसहितको पहिरो खस्दा सडकमा गुडिरहेका दुई यात्रुबाहक बस बगाएको घटना अझै नेपालीको मनमा तीतो सम्झनाका रूपमा बाँकी छ।  

गृह मन्त्रालयको सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनले देखाउँछ, काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको ‘गणपति डिलक्स’ बसमा ३६ जना र वीरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको ‘एनल डिलक्स’ बसमा २६ जना गरी कुल ६२ यात्रु थिए।  

यीमध्ये गणपति डिलक्सका तीन यात्रु नन्दन दास, जुगेश्वर राय यादव र सरोजकुमार गुप्ताले हाम फालेर ज्यान जोगाए। बाँकी ५९ जना बेपत्ता भए। पहिरोले बसलाई त्रिशूली नदीमा खसालेको प्रतिवेदनमा उल्लेख छ। भीषण वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले दुवै बसलाई धकेलेर नदीमा पुर्याएको थियो। २४ शव फेला परे पनि ३५ जना अझै बेपत्ता छन्।  

अर्को घटना साउन ३२ गते दिउँसो साढे १ बजे सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा भएको हो। एक्कासि आएको लेदोसहितको बाढीले क्षणभरमै थामे बजारलाई बगर बनायो। यो अकल्पनीय घटना अझै सपनाजस्तो लाग्छ खुम्बु पासाङल्हामु गाउँपालिकाकी उपाध्यक्ष टासी ल्हामु शेर्पालाई। ‘यो विपद्ले यहाँका बासिन्दालाई अझै डराइरहेको छ। फेरि कुन दिन हिमपहिरोले ज्यान जोखिममा पार्छ भन्ने चिन्ता छ,’ उनले भनिन्।  

जल तथा मौसम विज्ञान विभागको विश्लेषण छ, निरन्तर वर्षा र तापक्रम वृद्धिले हिमपहिरो निम्त्याएको हुन सक्छ, तर यसको गहिरो अध्ययन जरुरी छ। विभागले भन्छ, ‘प्रारम्भिक अध्ययनमा थामे खोला जलाधारको माथिल्लो क्षेत्रमा साना–ठूला गरी छ हिमताल–हिमपोखरी छन्। फोर्से केन्द्रमा सात दिनमा ६५ मिलिमिटर वर्षा मापन भयो। साउन २५ देखि औसत तापक्रम ९.७ बाट ११.० डिग्री सेल्सियससम्म बढ्यो र साउन ३१ गते अधिकतम तापक्रम १५.९ डिग्री पुग्यो।’  

तेस्रो घटना असोज १०, ११ र १२ गतेको भारी वर्षाले काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा ठूलो क्षति पुर्यायो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार तीन दिनमा २५० जनाको ज्यान गयो, १८ जना बेपत्ता छन् र १७८ जना घाइते भए। करिब छ हजार निजी आवासमा क्षति पुग्यो। उपत्यकाका नदी किनारका करिडोर अझै धुलाम्मे र कुरुप छन्।  

सहरी विकास मन्त्रालयको अनुमान छ, बाढीपहिरोले क्षतिग्रस्त संरचना पुनर्निर्माणमा दुई अर्ब ८८ करोड ३४ लाख रुपैयाँ लाग्नेछ। स्थानीय पूर्वाधार विभागअन्तर्गत २७ सडकखण्ड र २८ झोलुङ्गे पुलमा आंशिक क्षति भएको छ भने ३२ झोलुङ्गे पुल पूर्ण रूपमा भत्किएका छन्। बागमती, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, हनुमन्ते, कर्मनासा नदीमा थुप्रिएको माटो र गेग्रान हटाउन १२ करोड ८१ लाख र क्षतिग्रस्त तटबन्ध, पर्खाल र बाटो बनाउन ७० करोड खर्च हुने मन्त्रालयले जनाएको छ। 

वर्ष २०८१ मा थामेमा पहिरोले बस्ती नै उजाड बनायो, असोजमा बाढीले काठमाडौं उपत्यकाका धेरै क्षेत्र डुबायो र भौतिक संरचनामा ठूलो क्षति पुर्यायो। वन तथा वातावरण मन्त्रालयका जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकाल भन्छन्, ‘यी घटनाले आगामी दिनमा जलवायु अनुकूलन कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने र पूर्वसूचना तथा तयारीलाई व्यापक बनाउनुपर्ने सिकायो। प्रदेश र स्थानीय तहलाई पनि जलवायुजन्य विपद् व्यवस्थापनमा बलियो बनाउन जरुरी छ।’ 

यो वर्ष सुदूरपश्चिमको दोधारा, हनुमाननगर र सुन्दरपुरमा हालसम्मकै सर्वाधिक वर्षा मापन भयो। जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कअनुसार असार २४ मा २४ घण्टामा दोधारामा ६२४.० मिमी, हनुमाननगरमा ५७३.६ मिमी र सुन्दरपुरमा ५५५.८ मिमी वर्षा भयो। मनसुन न्यून चापीय रेखा, पश्चिमी वायु र जलवास्पयुक्त हावाको सम्मिश्रणले यो अति भारी वर्षा भएको विभागको प्रारम्भिक विश्लेषण छ।  

वैशाख १ देखि चैत १२ सम्म पहिरोले ३५९ जनाको ज्यान लियो, ४८ जना बेपत्ता छन् र २८७ जना घाइते भए। तीन हजार ६९२ घर आंशिक र दुई हजार १३ घर पूर्ण रूपमा क्षतिग्रस्त भए। बाढीले ९७ जनाको मृत्यु गरायो, १८ जना बेपत्ता छन् र ४८ जना घाइते भए। भारी वर्षाले आठ र हावाहुरीले सात जनाको ज्यान लियो।  

जलवायुविद् डा. पपुलर जेन्टल भुसालको बुझाइ छ, ‘बाढीपहिरोको अकल्पनीय क्षति, हिउँदमा कम वर्षा, हिमताल विस्फोटजस्ता घटनाले सबैलाई चिन्तित बनाएको छ। पूर्वसूचना दिँदा पनि धनजनको क्षति बढ्यो, यो चिन्ताजनक छ।’ 

ललितपुरकी सीता थापामगर भन्छिन्, ‘नख्खु खोलामा यस्तो बाढी आउँछ र टहरा बगाउँछ भन्ने सोचेकै थिएनौँ। २० वर्षदेखि यहीँ बस्दै आएका थियौँ, तर असोजको बाढीले तर्सायो। सम्झन पनि मन लाग्दैन।’ विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीको तर्क छ, ‘यो घटनाले नदी किनारमा बस्न नहुने र विपद्मैत्री संरचना बनाउनुपर्ने सिकायो।’  

जल तथा मौसम विज्ञान विभागका बाढीविज्ञ विनोद पराजुली भन्छन्, ‘यस वर्ष नख्खु खोलामा ४३ वर्षपछि ठूलो बाढी आयो। पहिला बस्ती नहुँदा क्षति भएन, तर अहिले किनारैसम्म बस्ती भएकाले क्षति बढ्यो। बाढीले पूर्वानुमान प्रणाली पनि बगायो। अब सुरक्षित ठाउँमा यस्ता प्रणाली राख्नुपर्छ।’

भू–गर्भविद् डा. सुबोध ढकालको मत छ, ‘पुराना पहिरो दोहोरिन थालेका छन्। सिमलताल र धादिङको झ्याप्ले खोलामा पहिरो जाँदा धेरैले ज्यान गुमाए। यस्ता ठाउँका बस्तीलाई सुरक्षित स्थानमा सार्नुपर्छ।’ 

वर्ष २०८१ ले जलवायु सङ्कटको गम्भीरता देखायो। अब २०८२ मा यस्ता विपद् दोहोरिएलान् भन्न सकिँदैन। तर पूर्वतयारी र सूचनालाई प्रभावकारी बनाएर क्षति भने कम गर्न सकिन्छ। प्रगति ढकाल/रासस

प्रकाशित: २७ चैत्र २०८१ १०:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App