ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ को ग्याब्ला क्षेत्र विद्युतीकरणको प्रक्रियामा अघि बढेको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले फक्ताङलुङ गाउँपालिकासँग १० प्रतिशत साझेदारीमा १५ किलोवाट क्षमताको नागपोखरी लघु जलविद्युत योजना बनाउन स्रोत सुनिश्चित गरेपछि यो क्षेत्र स्थायी रूपमा उज्यालो बन्ने बाटोमा छ।
फक्ताङलुङ गाउँ कार्यपालिका सदस्य मिङ्माडण्डु शेर्पाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ९० प्रतिशत र पालिकाको १० प्रतिशत लागत साझेदारीमा यो योजना अघि बढ्न लागेको बताए। कुल १ करोड ७२ लाख ८८ हजार १८१ रुपैयाँ २४ पैसामा बन्ने यो योजनाका लागि गाउँपालिकाले आफ्नो हिस्सा १७ लाख २८ हजार ८१८ रुपैयाँ २४ पैसा केन्द्रको खातामा जम्मा गरिसकेको छ।
शेर्पाले केही दिनमै नागपोखरी लघु जलविद्युत योजना निर्माणका लागि बोलपत्र आह्वान हुने जानकारी दिए। सरकारले आगामी तीन वर्षभित्र देशका सबै घरधुरीमा विद्युतीकरण गर्ने लक्ष्य राखेको छ। विद्युतको राष्ट्रिय प्रसारण लाइन नपुगेका क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा स्थानीय तह र सामुदायिक संस्थाले १० किलोवाटदेखि १ हजार किलोवाटसम्मका लघु तथा साना जलविद्युत आयोजनाबाट बिजुली उत्पादन र वितरण गरेमा केन्द्रले ९० प्रतिशत लागत व्यहोर्ने व्यवस्था छ। सोहीअनुसार यो पटक १५ किलोवाटको नागपोखरी योजना छनोट भएको हो।
प्रकाशित: २७ चैत्र २०८१ ११:३२ बुधबार





