हावाहुरीको मौसमसँगै कपिलवस्तुमा आगलागीका घटना बढेका छन् । गहुँ काट्ने बेलामा अहिले गहुँ खेतमा समेत आगलागी हुँदा कृषकहरूले लाखौँको गहुँ जलेर नष्ट भएको छ । तर आगो निभाउन आवश्यक दमकल नहुँदा आगलागी समय मै नियन्त्रण हुन नसकेकाे स्थानीयबासीको गुनासो छ । १० पालिका रहेको कपिलवस्तुमा६ पालिकामा दमकल नै छैन ।
कपिलवस्तु, बाणगंगा, शिवराज र कृष्णनगर नगरपालिकामा मात्र दमकल छन् । यस्तै बुद्धभुमी र महाराजगंज नगरपालिका तथा यशोधरा, मायादेबी, बिजयनगर र सुद्धोदन गाउँपालिकामा दमकल नै छैन । गर्मी सिजन सुर भए पछि बिजयनगर, सुद्धोदन र यशोधरा गाउँपालिकामा आगलागीका घटना बढी भएको प्रहरीले जनाएको छ ।
कपिलवस्तु नगरपालिकाका दमकल चालक मैसाद पठानले एक साता यता सुद्धोदन, मायादेबी र यशोधरा गाउँपालिकामा आगलागीका घटन बढी भएको बताए । कपिलवस्तु नगरपालिको दमकलले यशोधरा, मायादेबी, सुद्धोदन गाउँपालिका तथा महाराजगंज र बुद्धुभुमी नगरपालिका सम्म समेत सेवा दिन परेको उनले बताए ।
आगलागीका घटना बढेकोले अहिले आफू समय मै पुग्न निकै गाह्रो परेको बताए । दिनहुँ हुने आगलागीका घटनाले गर्दा कपिलवस्तु नगरपालिको एक मात्र दमकललाई अहिले आगो निभाउन भ्याई नभ्याई छ । हावाहुरीको मौसम सुरु भएसँगै आगलागीका घटना बढ्दै गएका छन् । दमकल चालक पठानले दिनहुँ हुने आगलागीको घटनाले गर्दा अहिले भ्याई नभ्याई भएको बताए । ‘ एक ठाउँमा जाँदा अर्को ठाउँबाट फाेन आउँछ, त्यसले समयमै घटना स्थल पुग्न निकै गाह्रा परेको छ ’ उनले भने ‘ हाम्रो बाध्यतालाई कसैले बुझ्दैनन्, हामीलाई नै गैर जिम्मेवार भनेर दोष लगाउने गर्छन् ’ घटना स्थल नजिक भए दमकल चाँडो पुग्ने गर्छ तर टाढा भए दमकललाई समयमै घटना स्थलमा पुग्न मुस्किल पर्ने उनले बताए ।
सुद्धोदन गाउँपालिकाको सिसहनीय र मुरफुटवान गहुँ खेतमा लागको आगो निभाउन आफुले भरपुर प्रयास गरेको बताए । त्यहाँ पुग्न अलि समय लागकोले केही समस्या भएको उनले बताए । एक साता यता कपिलवस्तुको सुद्धोदन गाउँपालिका, यशोधरा, कृष्णनगर र बिजयनगरमा लागको आगलागीबाट मात्र ३० लाख बढी मूल्यका गहुँ बाली जलेर नष्ट भएका छन् । यस्तै बिजयनगरमा १५ दिन भित्र २ स्थानमा भएको आगलागीबाट मात्र २० लाख बढीको धनमाल जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय अनुसार गर्मी सिजन सुरु भए यता मात्र कपिलवस्तुमा एक दर्जन बढी स्थानमा आगलागीका घटना भएका छन् ।
कपिलवस्तु नगरपालिकाले दमकल सञ्चालन गर्न गाह्रो भएको जनाएको छ । कर्मचारीलाई तलब, तेल मर्मतमा अत्यावश्यक सेवाका रुपमा रहेको दमकल सञ्चालन गर्न गाह्रो परको नगरपालिकाका लेखा अधिकृत बलराम न्यौपानेले बताए । उनले दमकल संचालनका लागि छिमेकी पालिकाले समेत रकम उपलब्ध गराउनु पर्ने बताए । सरकारले दमकल खरिदका अनुदान समेत दिने गरे पनि खरिद गर्न तत्परता देखाइँदैन । उता बुद्धुभुमी नगरपालिकाले दमकल खरिदका लागि आवश्यक प्रकृया अघि बढाएको जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले सबै पालिकाले दमकलेका व्यवस्था गर्नु पर्ने बताए । यस बारे बारम्बार बिपद व्यवस्थापन समितिका कुरा उठ्ने गरेको र पालिका प्रमुखहरूले किन्ने प्रतिबद्धता जनाउने गरेको बताए । उनले दमकल नभएका ६ पालिकालाई दमकल किन्नकालागि पुन: आग्रह गर्ने उनले बताए ।
प्रकाशित: २७ चैत्र २०८१ ११:३२ बुधबार





