कालीकोटको सदरमुकाम मान्ममा खानेपानीको चरम अभावले स्थानीयवासी आक्रोशित बनेका छन्। जिल्लाको मुटु मानिने खाँडाचक्र नगरपालिकामा खानेपानीको हाहाकार बढ्दै जाँदा सम्बन्धित निकाय भने मौन बसेको भन्दै नागरिकले गुनासो व्यक्त गरेका छन्।
खानेपानीको समस्या दिनानुदिन चर्किँदै गएपछि मान्म बजारमा होटल व्यवसाय सञ्चालन गर्ने नागरिक प्रत्यक्ष मारमा परेका छन्। पानी वितरणमा एकरूपता नहुँदा अभाव झन् गहिरिएको स्थानीय हिक्मतजंग मल्ल बताउँछन्। उनले जनप्रतिनिधिहरूले नागरिकको समस्याप्रति बेवास्ता गरेको भन्दै आक्रोश प्रकट गरे।
‘खानेपानी उपभोक्ता समितिको वितरण प्रणालीमा लापरवाहीले पानीको अभाव भएको हो। धारामा नियमित पानी नआउँदा सदरमुकाममै पिउने पानीको हाहाकार छ,’ उनले भने, ‘यति ठूलो समस्या हुँदा पनि कसैको ध्यान गएको छैन।’
खाँडाचक्र नगरपालिका–१ को बजार क्षेत्रमा पिउने पानीको संकट गहिरिँदा पहुँचवालाले खानेपानीको ट्यांकीबाट सिधै पाइप जडान गरी घरघरमा पानी लगेको स्थानीय कमल शाहीले खुलासा गरे। सर्वसाधारणको धारामा भने हप्तौंसम्म पानी नआएको उनको गुनासो छ। खानेपानीको उचित वितरण प्रणाली नहुँदा जिल्लावासीले अभावको मार खेप्नुपरेको छ।
प्रकाशित: २७ चैत्र २०८१ ०९:४९ बुधबार





