२९ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

रास्वपा महाधिवेशन : मतदान मुचुल्का सकियो, प्रवासको मतपछि गणना सुरु हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत सम्पन्न मतदानको मुचुल्का गर्ने प्रक्रिया पूरा भएको छ। प्रवासबाट भइरहेको मतदान जारी छ । मतदान सम्पन्न हुने र त्यसपछि मात्रै मतगणना सुरु गरिने रास्वपा केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाका अनुसार मुचुल्का सम्पन्न भएपछि आयोगको टोली अहिले विश्राम तथा भोजनका लागि रोकिएको छ। त्यसपछि प्रवासबाट प्राप्त मतसमेत संकलन गरी मतगणना प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।

विद्युतीय प्रणालीमार्फत मतदान सञ्चालन गरिरहेको कम्पनी रामलक्ष्मण भोटिङ मेसिनका सञ्चालक रामप्रसाद रिमालले मतगणना सुरु भएपछि करिब दुई घण्टाभित्र प्रारम्भिक परिणाम आउने अपेक्षा गरिएको बताएका छन्।

महाधिवेशनमा करिब ६८ प्रतिशत मात्रै मतदान भएपछि ९९ सदस्यीय केन्द्रीय समिति चयनपछि हुने पदाधिकारी निर्वाचनमा मतदाता प्रतिनिधिको सहभागिता अझ घट्न सक्ने अनुमान गरिएको छ। रास्वपामा कुल ४ हजार २ सय ११ प्रतिनिधि रहेकामा केन्द्रीय सदस्य चयनका लागि २ हजार ९ सय ५९ जनाले मात्रै मतदान गरेका थिए।

यसैबीच रास्वपाका नेता हरि ढकालले सामाजिक सञ्जालमार्फत प्रतिनिधिहरूलाई पहिलो चरणको मतदानपछि चितवन नछोड्न आग्रह गरेका छन्। पदाधिकारी निर्वाचन अझै बाँकी रहेकाले मतदान प्रक्रिया पूरा गरेर मात्रै घर फर्किन उनले अनुरोध गरेका हुन्।

रास्वपाको विधानमा निर्वाचन वैध हुन कति प्रतिनिधिको सहभागिता वा कति मत खस्नुपर्ने भन्ने स्पष्ट व्यवस्था नरहेको आयोगले जनाएको छ। आयोगका सदस्य सापकोटाले विधानमा न्यूनतम मतसंख्या तोकिएको व्यवस्था नभएको उल्लेख गर्दै एक सय मतदाता सहभागी भए पनि निर्वाचन वैध हुने बताए।

३८४ जना उम्मेदवारमध्येबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएपछि तीमध्येबाटै पदाधिकारी पदका लागि उम्मेदवारी दर्ता हुनेछ। पदाधिकारी निर्वाचनका लागि उम्मेदवारी छनोट, दाबी–विरोध तथा अन्तिम नामावली प्रकाशनलगायतका प्रक्रिया निर्वाचन आयोगले पूरा गरिसकेको जनाएको छ।

निर्वाचन आयोगले आज मध्यरातसम्म काम गरेर पदाधिकारीसहितको अन्तिम परिणाम सार्वजनिक गर्ने तथा भोलिसम्म चितवनस्थित उद्योग संघको प्रदर्शनीस्थलमा रहेको महाधिवेशनस्थल खाली गर्ने तयारी गरेको जनाएको छ।

प्रकाशित: ११ असार २०८३ १६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App