कर्णाली प्रदेश अस्पतालले निःशुल्क मृर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ । हालै सुर्खेत र कञ्चनपुरका एक–एक जनाको निःशुल्क मृगौंला प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । प्रदेश सरकारसँगको सहकार्यमा निःशुल्क मृर्गौला प्रत्यारोपण गरिएको जनरल सर्जन डा. विकाश खड्काले जानकारी दिए ।
डा. खड्काले हालै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट एक वर्षे सर्जरी फेलोसिप कोर्ष पूरा गरेर आएपछि यो वर्ष पहिलोपटक मृर्गौला प्रत्यारोपण गरिएको हो । मृर्गौला प्रत्यारोपणका लागि सामान्यतया सातदेखि आठ लाख रुपैयाँ खर्च हुन्छ । असार २३ गते मृर्गौला प्रत्यारोपण गरिएका दुबै जनाको निःशुल्क गरिएको डा. खड्काले जानकारी दिए ।
‘मृर्गौला प्रत्यारोपणका लागि संघीय सरकारले विरामीका लागि चार लाख रुपैयाँ उपलब्ध गराउँछ,’ जनरल सर्जन डा. खड्काले भने, ‘प्रदेश सरकारले प्रति विरामी तीन लाख रुपैयाँ उपलब्ध गराएपछि पूर्णतया निःशुल्क अप्रेशन गरिएको हो ।’ केही अपुग रकम अस्पतालले आन्तरिक स्रोतबाट व्यहोरेको थियो ।
कर्णाली प्रदेश अस्पतालमा पहिलोपटक २०७९ माघ २१ गते एक जनाको मृर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता हालसम्म नौ जनाको मृर्गौला प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । सुरुसुरुमा मृर्गौला प्रत्यारोपणका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट ३० जनाको चिकित्सकसहितको टीम आउँथ्यो । अहिले प्रदेश अस्पतालमै कार्यरत चिकित्सक र नर्सहरुले राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट तालिम लिएपछि काठमाडौंबाट आउने जनशक्ति घटेको छ ।
‘प्रदेश अस्पतालमा कार्यरत जनशक्तिले मृर्गौला प्रत्यारोपण सम्वन्धी कोर्ष गरिरहनु भएको छ, केहीले उक्त कोर्ष सम्पन्न गरिसक्नुभयो,’ अस्पताल निर्देशक डा. गणेश थापाले भने, ‘अहिले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट सात जनाको टीम मात्रै आएको थियो, बाँकी जनशक्ति हाम्रो आन्तरिक हो ।’
अस्पताल निर्देशक डा. थापाका अनुसार राष्ट्रिय प्रत्यारोपण केन्द्रका विशेषज्ञ चिकित्सक डा. दिपेश श्रेष्ठ, डा. शोभित थापा, डा. रुवसनाथ योगी, डा. सोजन अधिकारी, डा. विकिन डंगोल, नर्सिङ कर्मचारी सबिया नागा, सोनिया गिरी, प्रत्यारोपण कोर्डिनेटर तारा साधका साथै अस्पताल निर्देशक डा. थापा, विशेषज्ञ चिकित्सक डा. खड्कासहितको संयुक्त टीमले मृर्गौला प्रत्यारोपण गरेको थियो ।
‘मृर्गौला प्रत्यारोपणका लागि ४० जना स्टाफ आवश्यक पर्छ,’ उनले भने, ‘आठ जनाबाहेक बाँकी प्रदेश अस्पतालकै जनशक्ति प्रयोग गरेर यो पटक मृर्गौला प्रत्यारोपण गर्न सफल भएका छौं ।’ प्रदेश अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. राजकमल मानन्धरले एक वर्षे फेलोसिप कोर्ष गरिरहेका छन् । ‘प्रदेश अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकहरुलाई क्षमता बृद्धि गरी जनशक्तिमा आत्मनिर्भर बनाउनका लागि केन्द्रमा थप तालिममा पठाउने कार्यलाई निरन्तरता दिनेछौं,’ अस्पताल निर्देशक डा. थापाले भने, ‘कर्णाली प्रदेश अस्पताललाई मृर्गौला प्रत्यारोपणको केन्द्र बनाउने गरेर हामीले काम गरिरहेका छौं ।’
असार २३ गते मृर्गौला प्रत्यारोपण गरिएका सुर्खेतको वीरेन्द्रनगर–१ का शिवराज गुइदेल र कञ्चनपुरको बेलौरी–५ का अजय चौधरी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । गुइदेललाई छोरीले मृर्गौला लिएकी थिइन् भने चौधरीलाई आमाले मृर्गौला दान गरेकी थिइन् ।
४९ वर्षीय गुइदेलको सुगरका कारणले मृगौला फेल भएको थियो । भारतमा गएर पनि उपचार गरेका उनलाई सन्चो भएपछि एक वर्षदेखि उनी प्रदेश अस्पतालमा डायलोसिस गरिरहेका थिए । यस्तै कञ्चनपुरका ३० वर्षीय चौधरीको प्रेसरका कारणले मृगौला फेल भएको थियो । प्रदेश अस्पतालले मृर्गौला दिने व्यक्तिको दूरविन प्रविधिबाट निकालेर टान्सप्लान्ट गरेको थियो । कर्णाली प्रदेश अस्पतालमा सातामा ६० जनाले नियमित डायलाइसिस गरिरहेका छन् । विशेषज्ञ चिकित्सक डा. खड्काका अनुसार डायलाइसिस भन्दा टान्सप्लान्ट गर्दा धेरै राम्रो हुन्छ ।
प्रदेश अस्पतालले मृर्गौला प्रत्यारोपणपछि गरिने प्रयोगशाला सम्वन्धी परिक्षण पनि सुरु गरेको छ । यसअघि कर्णाली प्रदेश अस्पतालमा मृर्गौला प्रत्यारोपण गरिएपनि त्यसपछि गरिने परीक्षणका लागि काठमाडौं धाउनुपर्ने बाध्यता थियो ।
प्रकाशित: २९ असार २०८३ २०:११ सोमबार

