१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
खेल

डलासमा ‘सुपर स्टार’ भिडन्त, एमबाप्पेको चुनौतीमा यामालको दबदबा कायम राख्ने लक्ष्य

फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन आमनेसामने हुँदैछन्। नेपाली समयअनुसार बुधबार बिहानको राति १२ः४५ बजे डलासमा हुने खेल उपाधि यात्राको मात्र नभई विश्व फुटबलका दुई पुस्ताका स्टार खेलाडी किलियन एमबाप्पे र लामिन यामालबीचको प्रतिष्ठाको लडाइँका रूपमा पनि हेरिएको छ।

१८ वर्षीय यामालले पछिल्ला भेटहरूमा एमबाप्पेमाथि स्पष्ट दबदबा कायम गरेका छन्। दुवैले राष्ट्रिय टोली र क्लब फुटबलमा हालसम्म १० पटक प्रतिस्पर्धा गर्दा यामालको टोली आठ खेलमा विजयी भएको छ भने एमबाप्पेको टोलीले दुई खेल मात्र जितेको छ।

राष्ट्रिय टोलीबाट भएका दुवै भेटमा स्पेन विजयी भएको छ। युरो २०२४ र नेसन्स लिग २०२५ को सेमिफाइनलमा यामालले निर्णायक प्रदर्शन गर्दै फ्रान्सलाई निराश बनाएका थिए। यद्यपि व्यक्तिगत गोल संख्यामा भने एमबाप्पे अगाडि छन्। उनले यामालविरुद्धका खेलमा नौ गोल गरेका छन् भने यामालको नाममा छ गोल छ।

रियल म्याड्रिडमा आबद्ध भएपछि एमबाप्पे र बार्सिलोनाका यामालबीच एल क्लासिको प्रतिस्पर्धा पनि थप रोचक बनेको छ। यद्यपि अधिकांश महत्त्वपूर्ण खेलमा बार्सिलोनाले सफलता हात पारेको छ।

अब विश्वकपको सेमिफाइनलमा यी दुई स्टार पहिलो पटक आमनेसामने हुँदैछन्। एकातिर २०१८ को विश्व विजेता तथा फ्रान्सका कप्तान एमबाप्पे आफ्नो अनुभवलाई जितमा रूपान्तरण गर्न चाहन्छन् भने अर्कोतर्फ पहिलो विश्वकप खेलिरहेका यामाल स्पेनलाई फाइनल पुर्‍याउँदै आफ्नो उदयलाई थप ऐतिहासिक बनाउने लक्ष्यमा छन्।

सेमिफाइनलको विजेताले उपाधिनजिक पुग्ने मात्र होइन, विश्व फुटबलको नयाँ पुस्ता र स्थापित स्टारबीचको प्रतिस्पर्धामा पनि महत्वपूर्ण सन्देश दिनेछ।

प्रकाशित: २९ असार २०८३ १९:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App