जुड बेलिङ्घमले मेक्सिको सिटीको उच्च भूभागदेखि मियामीको अत्यधिक गर्मी र आर्द्रतालाई पार गर्दै फिफा विश्वकपमा इङ्ल्यान्डलाई अघि बढाएका छन्।
बेलिङ्घमको प्रदर्शन हेर्दा यस्तो लाग्छ उनी ६० वर्षदेखि विश्वकप उपाधिको प्रतीक्षामा रहेको इङ्ल्यान्डलाई फेरि विश्वविजेता बनाउन चाहन्छन्। विश्वकप कहिलेकाहीं एउटा खेलाडीको व्यक्तिगत नियतिसँग पनि जोडिन्छ। त्यस्तो खेलाडीले प्रतियोगिताभर अद्भुत लय समात्दै टोलीलाई सबैभन्दा ठूलो उपाधिसम्म पुर्याउँछ।
सन् १९८६ मा अर्जेन्टिनाका डिएगो म्याराडोना, सन् २००२ मा ब्राजिलका रोनाल्डोको पुनरागमनको कथा र सन् २०२२ मा लियोनेल मेसीले अन्ततः आफ्नो जीवनमा सबैभन्दा ठूलो सपना पूरा गरेको क्षण। यी सबै महान् खेलाडीका उदाहरण हुन्। मियामीको प्रचण्ड गर्मीमा नर्वेविरुद्ध दुई गोल गर्दै उनले इङ्ल्यान्डलाई जित दिलाए। म्याराडोना, रोनाल्डो वा मेसीजस्ता खेलाडीको स्तरमा राख्न बेलिङ्घमले धेरै दूरी तय गर्न बाँकी छ। सबैभन्दा ठूलो चुनौती अहिले नै उनको अगाडि छ।
किनकि सेमिफाइनलमा विश्व च्याम्पियन अर्जेन्टिना र मेसी उनका प्रतिद्वन्द्वी हुन्। इङ्ल्यान्डले अर्जेन्टिनालाई पार गर्दा पनि उपाधि यात्रा सहज छैन। फाइनलमा स्पेन वा किलियन एमबाप्पेको बलियो फ्रान्स प्रतीक्षामा हुनेछ। तर विश्वस्तरीय खेलाडीहरू कहिलेकाहीं आफ्नै इच्छाशक्तिले विश्वकपको कथा लेख्छन्।
बेलिङ्घम अहिले त्यही दिशातर्फ अघि बढिरहेका देखिन्छन्। उनलाई अहिले नै पेले वा म्याराडोनाको स्तरमा राख्नु हतार हुनेछ। उनीहरूको इतिहास र उपलब्धिसँग तुलना गर्न समय लाग्छ। तर उनको प्रदर्शनले उल्लेखनीय तथ्यांक भने अवश्य दिएको छ। एकै विश्वकपको लगातार दुईवटा नकआउट खेलमा दुई वा सोभन्दा बढी गोल गर्ने पहिलो खेलाडी उनी बनेका छन्। यसअघि सन् १९८६ मा म्याराडोनाले यो उपलब्धि पाएका थिए। २३ वर्षे उनी यो उपलब्धि हासिल गर्ने दोस्रो कान्छा खेलाडी हुन्।
पहिलो स्थानमा ब्राजिलका पेले छन्, जसले १७ वर्षको उमेरमा सन् १९५८ को विश्वकपमा यो कीर्तिमान बनाएका थिए। विश्वकपमा म्याराडोना, पेले र मेसीले लगाएको प्रसिद्ध नम्बर १० जर्सी अहिले इङ्ल्यान्डको सेतो पोसाकमा बेलिङ्घमले गर्वका साथ बोकेका छन्। नर्वेविरुद्ध गोल मात्र होइन उनको समग्र प्रदर्शन पनि असाधारण रह्यो। उनले इङ्ल्यान्डका खेलाडीमध्ये सबैभन्दा धेरै पाँच पटक प्रहार गरे। विपक्षीको पेनाल्टी क्षेत्रभित्र सबैभन्दा धेरै ६ पटक बल छोए। सबैभन्दा बढी आठ डिफेन्स जिते र चारपटक फाउल कमाए। यी सबै तथ्यांकले इङ्ल्यान्डको खेलमा उनको प्रभाव कति ठूलो छ भन्ने स्पष्ट पार्छ।
युरो २०२४ मा स्लोभाकियाविरुद्ध ९४ मिनेट ३४ सेकेन्डमा गरेको दर्शनीय बाइसाइकल किक गोलपछि बेलिङ्घमले समर्थकतर्फ फर्केर भनेका थिए, ‘अरू को त ?’ त्यो गोलले इङल्यान्डलाई हारबाट मात्रै बचाएन अतिरिक्त समयमा जितको आधार पनि तयार गरेको थियो। त्यसपछि उनको करियरमा उतारचढाव पनि आए। एक समय प्रशिक्षक थोमस टुचेलले उनलाई टोलीबाट बाहिरसमेत राखे तर यो विश्वकप बेलिङ्घमका लागि निरन्तर उकालो यात्रा बनेको छ। मेक्सिकोविरुद्ध ३–२ को जितमा उनको दुई गोल र त्यसपछि नर्वेविरुद्ध पनि। यी गोलहरू संख्या मात्र होइनन्। इङ्ल्यान्डलाई आवश्यक क्षणमा निर्णायक योगदान दिने उनको लय देखिन्छ। इङ्ल्यान्डका लागि उनले गरेका १२ गोलमध्ये ९ वटा प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा आएका छन्।
तीमध्ये पाँच गोलले टोलीलाई अग्रता दिलाएका छन् भने दुई गोल बराबरी गराउने खालका थिए। सन् १९८६ मा ग्यारी लिनेकरले गरेको ६ ननपेनाल्टी गोलपछि एउटै विश्वकपमा सबैभन्दा धेरै ननपेनाल्टी गोल गर्ने इङ्लिस खेलाडी बन्ने अवसर पनि बेलिङ्घमसँग छ। अझ रोचक तथ्य के भने यस विश्वकपमा बायाँ खुट्टा, दायाँ खुट्टा र हेडिङ तीनै माध्यमबाट गोल गर्ने खेलाडीमा नर्वेका एर्लिङ हालान्डसँगै उनी मात्र छन्। ठूला प्रतियोगितामा कहिलेकाहीं एउटा खेलाडी आपैmँ अर्को स्तरमा पुग्छ। उसले आफ्नो टोलीलाई पनि त्यही उचाइमा पुर्याउँछ। सन् २००२ मा जापान र दक्षिण कोरियामा भएको विश्वकपमा रोनाल्डोले यही गरेका थिए। चार वर्षअघि फ्रान्ससँगको फाइनल हार, स्वास्थ्यसम्बन्धी रहस्य र गम्भीर चोटपछि रोनाल्डोले विश्वकपलाई आफ्नो पुनर्जन्मको मञ्च बनाएका थिए।
जर्मनीविरुद्ध फाइनलमा दुवै गोल गर्दै ब्राजिललाई उपाधि दिलाएपछि उनले एउटा वाक्य भनेका थिए, ‘पीडा समाप्त भयो।’ त्यस्तै मेसीले पनि २०१४ मा जर्मनीसँग फाइनल हारको पीडा भोगे। अन्ततः सन् २०२२ मा कतारमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराएर पूरा गरे। बेलिङ्घम त्यस्तो उचाइमा पुगेका छैनन्। तर कप्तान ह्यारी केनसँगै इङ्ल्यान्डका लागि उनको महत्त्व त्यही स्तरतर्फ बढिरहेको छ। यद्यपि महान् खेलाडीको मान्यता पाउन उनले इङ्ल्यान्डलाई ६० वर्षदेखिको उपाधिविहीन यात्राको अन्त्य गराउन सहयोग गर्नुपर्नेछ। अहिलेको लय हेर्दा त्यो सम्भावना सबैभन्दा बढी उनमै देखिन्छ।
प्रकाशित: २९ असार २०८३ ०९:३७ सोमबार





