१३ पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

सहिद रत्नकुमार बान्तवाको स्मृति : विशेष कार्यक्रम गरी मनाइँदै

सहिद रत्नकुमार बान्तवाको ७३औं जन्मजयन्ती र ४६औं स्मृति दिवस इलाममा विभिन्न कार्यक्रमसहित मनाइँदैछ। नेपाली कम्युनिस्ट आन्दोलनका योद्धा रत्नकुमारको २०३५ साल चैत २७ गते इलामको इभाङ (हाल माङ्सेबुङ गाउँपालिका–२) मा प्रहरीको गोलीबाट हत्या भएको थियो।  

इलामको चमैतास्थित चित्रे गाउँमा जन्मिएका रत्नकुमारलाई कम्युनिस्ट आन्दोलनका अग्रणी योद्धामध्ये एक मानिन्छ। चैत २७ मा जन्मिएका उनको २७ वर्षको उमेरमा चैत २७ गते नै सहादत भएको थियो। उनको मृत्युको ३७ वर्षपछि २०७२ सालमा सरकारले रत्नकुमारलाई सहिद घोषणा गरेको थियो।

उनको सहादतस्थलमा बुधबार विविध कार्यक्रम आयोजना गरिएको छ। नेकपा (एमाले) जिल्ला सचिव रवीन्द्र अधिकारीका अनुसार, रत्नको स्मृतिमा दिनभर कार्यक्रम हुनेछन् भने पार्टीका उच्चपदस्थ नेताहरूको सहभागिता रहनेछ। इलाम बजारमा उनको सालिक निर्माण गरी त्यस ठाउँलाई ‘रत्नचोक’ नामकरण गरिएको छ। एमाले केन्द्रीय सदस्य तारा गुरुङ, इलाम क्षेत्र २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङ, क्षेत्र १ बाट निर्वाचित महेश बस्नेतसहित प्रदेश र जिल्ला कमिटीका पदाधिकारी–सदस्यले बिहान रत्नचोक पुगेर सालिकमा माल्यार्पण गरेका छन्।

रत्नको सहादतस्थलमा सालिक र पार्क बनाइएको छ भने उनको जन्मघर र घरभित्रै खनिएको करिब ३० मिटर लामो सुरुङ पनि संरक्षण गरिएको छ। इलाम नगरपालिका–१, साखेजुङमा रत्नकुमार बान्तवा पोलिटेक्निकल इन्स्टिच्युट सञ्चालित छ। चमैताको मेची राजमार्गछेउमा उनको स्मृतिमा गेट र इलाम बजारछेउ सिंहवाहिनीमा रहेको समाधिस्थल पनि संरक्षित छ।

झापा विद्रोहबाटै कम्युनिस्ट आन्दोलनमा होमिएका रत्न तीक्ष्ण बुद्धिका थिए। साहित्यकार रनबहादुर कार्कीका अनुसार, उनी दुई हातले एकैपटक दुई भाषामा लेख्न सक्ने क्षमताका थिए। हत्या हुनु तीन महिनाअघि उनी नेकपा (माले) को केन्द्रीय सदस्य निर्वाचित भएका थिए। त्यसपछि ताप्लेजुङ यात्रामा निस्किएका उनको टोलीमा सुशीला श्रेष्ठ र कल्पना (निरमाया राई) पनि थिए।

इभाङ पुगेको तेस्रो दिन बिहान ताप्लेजुङतर्फ हिँडेका उनीहरूमाथि प्रहरीले घेराबन्दी गर्‍यो। अँध्यारोमै हिँडिरहँदा १०–१५ जनाको समूह देखेपछि उनीहरू सशंकित भए। ‘ऊ त्यही हो रत्नकुमार’ भन्ने आवाजसँगै प्रहरीले उनलाई समातेको थियो। सुशीलाले प्रहरीमाथि लठ्ठी प्रहार गरेर रत्नलाई उम्काउन खोज्दा गोली चल्यो र रत्न त्यहीँ ढले। सुशीला भने भागेर बाँचिन्।

२००८ साल चैत २७ मा गर्जमान राई र पुष्पमाया राईको कोखबाट जन्मिएका रत्न, छ दाजुभाइ र छ दिदीबहिनीमध्ये चौथो सन्तान थिए। २०३२ सालदेखि इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा ज्यालादारी पढाउँदै कम्युनिस्ट राजनीतिमा सक्रिय भएका उनको त्यसैक्रममा हत्या भएको थियो।

एमाले नेता तथा रत्नका भतिजा अगमप्रसाद बान्तवाले रत्नको योगदान र समाजसेवा अतुलनीय भएको बताए। उनले रत्नको सपना साकार पार्न सबै कम्युनिस्ट एकजुट हुनुपर्ने जोड दिए। 

प्रकाशित: २७ चैत्र २०८१ ०९:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App