२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

रास्वपाकाे पदाधिकारीमा कसले कति मत ल्याए ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत पाँच पदाधिकारीका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ।

सोबिता गौतम उपसभापति र विपिन कुमार आचार्य महामन्त्रीमा निर्वाचित भएका छन्।

महिला उपसभापति पदका लागि भएको रोचक प्रतिस्पर्धामा सोबिता गौतमले जित हात पारेकी हुन्। उनले ७८९ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिस्पर्धी डा. तोसिमा कार्कीले ५७२ मत पाइन्।

पार्टी स्थापनाकालदेखि नै सक्रिय रहेका दुई युवा नेतृबीचको यो प्रतिस्पर्धालाई महाधिवेशनमा विशेष चासोका साथ हेरिएको थियो।

यस्तै, पार्टीको सांगठनिक सुदृढीकरणका लागि महत्वपूर्ण मानिने महामन्त्री पदमा विपिन कुमार आचार्य विजयी भएका छन्। उनले कुल ६७३ मत प्राप्त गर्दै जित सुनिश्चित गरेका हुन्। अन्य आकांक्षीहरूले उम्मेदवारी फिर्ता लिएर आचार्यलाई समर्थन गरेपछि उनको जित सहज बनेको थियो।

सहमहामन्त्री खुलातर्फ असिम शाह र हरि ढकाल निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार शाहले ४७१ मत प्राप्त गरे भने ढकालले ४१० मत पाएर कार्यसमितिमा आफ्नो स्थान सुरक्षित गरे।

महिला सहमहामन्त्री पदमा भने निशा डाँगी फराकिलो मतान्तरले विजयी भएकी छिन्। उनले ७३७ मत प्राप्त गर्दै जित हासिल गरेकी हुन्। निर्वाचित भएसँगै डाँगीले पार्टीको समावेशी संरचना र युवा सहभागितालाई थप बलियो बनाउने प्रतिबद्धता जनाएकी छिन्।

प्रकाशित: १२ असार २०८३ १९:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App