२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

काठमाडौंमा हुक्का र चुरोटका लागि अलग्गै बन्द कोठा अनिवार्य, नमाने कारबाही

काठमाडौं जिल्लाभित्रका होटल तथा रेस्टुरेन्टहरूमा हुक्का र चुरोटसहितको अव्यवस्थित धूम्रपान रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन जारी गरेको छ।

होटल तथा रेस्टुरेन्ट सञ्चालकहरूले कानुनी व्यवस्था पालना नगरेको र त्यसबाट धूम्रपान नगर्ने सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै निरन्तर गुनासो आएपछि प्रशासनले यस्तो कदम चालेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुक्तिराम रिजालद्वारा जारी सूचनाअनुसार अब काठमाडौंका होटल तथा रेस्टुरेन्टहरूले ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८’ को व्यवस्था अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।

प्रशासनले धूम्रपान गर्न मिल्ने र नमिल्ने क्षेत्रहरू स्पष्ट देखिने गरी छुट्याउन निर्देशन दिएको छ। साथै, धूम्रपानका लागि तोकिएको स्थानलाई चारैतिरबाट बन्द गरी अन्य ग्राहक तथा व्यक्तिहरूलाई असर नपर्ने गरी मात्र व्यवसाय सञ्चालन गर्न भनिएको छ।

जिल्ला प्रशासन कार्यालय तथा अन्य तोकिएका नियमनकारी निकायहरूबाट नियमित अनुगमन गरिने र अनुगमनका क्रममा नियम विपरीत कार्य गरेको पाइएमा कारबाही गरिने चेतावनी दिइएको छ।

तोकिएको मापदण्ड पालना नगरेमा ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८’ को दफा १७ बमोजिम अधिकतम कानुनी कारबाही गरिने प्रशासनले जनाएको छ।

प्रकाशित: २० श्रावण २०८३ २१:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App