११ आश्विन २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘दुई वर्ष महिलाले सरकार चलाए राम्रो हुन्थ्यो’ भन्ने ओबामालाई ट्रम्पको यस्तो जवाफ

फाइल तस्बिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामाले महिलालाई सरकारको जिम्मेवारी दिँदा शासन अझ राम्रो हुने भनेर दिएको बयानलाई ‘हास्यास्पद’ भनेका छन्।

हालै, ह्वाइट हाउस बाहिर ट्रम्पलाई ओबामाको भनाइबारे प्रश्न गरिएको थियो। ओबामाले यसै हप्ता एक कार्यक्रममा ‘महिलालाई दुई वर्षका लागि सरकारका विभिन्न जिम्मेवारी दिएर हेर्ने हो भने अवस्था अझ राम्रो हुने’ आफूलाई विश्वास रहेको बताएका थिए। उनले सरकार पूर्ण रूपमा राम्रो नहुने भए पनि महिलाले जिम्मेवारी सम्हालेमा अवस्था सुधार हुने बताएका थिए।

ओबामाको उक्त भनाइबारे सोध्दा ट्रम्पले भने, ‘मलाई महिलाहरू मन पर्छन्। मलाई लाग्छ उनीहरू महान् छन्। तर यो कस्तो हास्यास्पद भनाइ हो।’

शनिबार नै एक महिला पत्रकारले ट्रम्पसँग कठिन प्रश्न सोधेकी थिइन्। प्रश्न पूरा हुनुअघि नै ट्रम्पले उनलाई रोक्दै ‘पर्ख, चुप लाग’ भनेका थिए। ट्रम्पले आफूलाई स्वतन्त्र प्रेस मन पर्ने तर ‘नक्कली समाचार’ मन नपर्ने बताउँदै आएका छन्। 

पत्रकारहरूसँग ट्रम्पको लामो समयदेखि तनावपूर्ण सम्बन्ध रहँदै आएको छ। उनले पत्रकारहरूलाई पक्षपाती र अनुचित समाचार दिएको आरोप लगाउँदै आएका छन्।

उनका यस्ता टिप्पणीमध्ये केही महिला पत्रकारप्रति लक्षित हुने गरेका छन्। यसअघि पनि ट्रम्पले सीएनएनकी केट्लान कोलिन्ससहित विभिन्न महिला पत्रकारमाथि सार्वजनिक रूपमा टिप्पणी गरेका थिए।

गत नोभेम्बरमा एक महिला पत्रकारले जेफ्री एपस्टिनबारे प्रश्न गर्न खोज्दा ट्रम्पले उनलाई ‘शान्त’ रहन भनेका थिए।

ट्रम्पले ओबामाबाहेक अन्य विषयमा पनि आफ्नो कुरा राखेका छन्। उनले अमेरिकाले कृत्रिम बुद्धिमत्ताको विकासमा रोक नलगाउने कुरा दोहोर्‍याए। युक्रेनमा रुससँग जारी द्वन्द्व अन्त्य गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘सम्झौता’ गर्नुपर्ने उनको भनाइ थियो।

सो अवसरमा ट्रम्पले होर्मुज जलमार्गमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ रहेको दाबी पनि दोहोर्‍याएका थिए।

प्रकाशित: ११ आश्विन २०८३ ११:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App