११ आश्विन २०८३ आइतबार
image/svg+xml
स्वास्थ्य

नेशनल मेडिकल कलेज अगाडि आवासीय चिकित्सकको प्रदर्शन

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको अगाडि स्नातकोत्तर आवासीय चिकित्सकहरूले आज (आइतबार) बिहान १० बजेदेखि प्रदर्शन गरिरहेका छन्।

दादागिरी बन्द गर', 'पैसा लुट्न पाइँदैन', 'तानाशाही चल्दैन', 'सहमति कार्यावन्यन गर', 'गलत निर्णय फिर्ता गर'लगायतका नारा लगाउँदै उनीहरू प्रदर्शन गरिरहेका हुन्।

उनीहरूले गत भदौ ३१ गतेदेखि विभिन्न छ बुँदे माग अघि सारेर आन्दोलन गरिरहेका छन्।

स्नातकोत्तर आवासीय चिकित्सकहरू मध्ये प्रथम वर्षका चिकित्सकहरूलाई नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्रवेशमा रोक लगाएको छ।

भित्र प्रवेशमा रोक लगाएपछि उनीहरू प्रवेशद्वारमा अस्पताल सन्चालकविरुद्ध नारा लगाएर प्रदर्शन गरिरहेका छन्।

‘असोज २ गते अस्पताल प्रशासनले प्रधानाचार्यको कोठामा बोलाएर हामीहरूसँग माग बारे लिखित रूपमै हस्ताक्षर गरेर दिन भन्यो,’ आन्दोलनरत चिकित्सक मध्ये एक डा. निसा महर्जनले भनिन्, ‘हस्ताक्षर गरेर लिखित रूपमै दिएको मागहरू पूरा गर्नुको साट्टो चिकित्सकहरूसँग सहमति भएको भनिएर त्यसलाई दुरुपयोग गर्न खोजिएको छ।’

मागलाई हस्ताक्षरसहित लिखित रूपमै दिएको पत्रलाई माथिल्लो निकायमा पठाएर अस्पताल प्रशासनले आन्दोलन भाँड्न खोजेको आरोप उनले लगाइन्।

असोज ८ गते पनि नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले स्नातकोत्तर आवासीय चिकित्सकहरू मध्ये प्रथम वर्षका चिकित्सकहरूलाई अस्पतालबाट फिर्ता बोलाउन चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) त्रिभुवन विश्व विद्यालयलाई पत्र पठाएको छ।

पत्रसँगै भारी वर्षकै बेला आन्दोलन चिकित्सकहरूलाई १२ घण्टे समय दिएर छात्राबास खाली गर्न सूचना जारी गरेको थियो।

एक हप्तादेखि आन्दोलन गरे पनि नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल सन्चालकहरूबाट माग पूरा हुने अवस्था नभएपछि आन्दोलनरत  बाध्य भएर असोज ६ गते काठमाडौं पुगेका थिए।

आन्दोलनरत चिकित्सकहरूले काठमाडौं पुगेर शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्राध्यापक डा. मोहन राज शर्मा, नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. बद्री रिजाललाई भेटेर आफ्नो जायज माग पूरा गराउनको लागि पहल गरिदिन आग्रह समेत गरेका थिए।  

स्नातकोत्तर आवासीय चिकित्सकहरूसँगको भेटमा उनीहरूले एक/दुई दिनमै जायज माग पूरा गराउन पहल गर्ने आश्वासन समेत पाएका थिए।

उनीहरूको जायज माग पूरा नगरिए कडा आन्दोलनमा उत्रिन बाध्य हुने भन्दै नेपाल चिकित्सक संघ केन्द्रीय अध्यक्ष डा.बद्री रिजाल र महासचिव डा. विश्व राज दवाडीले संयुक्त रूपमा असोज ६ गते विज्ञप्ति समेत निकालेका थिए।

प्रकाशित: ११ आश्विन २०८३ १२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App