लगातारको वर्षासँगै म्याग्दीका विभिन्न स्थानमा खसेको पहिरोमा परी आइतबार तीन जनाको मृत्यु भएको छ भने पहिरोमा फसेका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत जीवितै उद्धार गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा गएको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ।
पहिरोबाट गिवाङकी ७५ वर्षीया सिउकुमारी गर्बुजा र ५६ वर्षीया दोमाया गर्बुजाको शव निकालिएको उनले बताए।
यस्तै, बेनी नगरपालिका-३ भकिम्लीको छेपारेमा पहिरोले घर पुरिँदा अन्दाजी ३५ वर्षीया कुमारी वली विकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले पहिरोमा पुरिएकी विकको शव निकालिएको जानकारी दिए।
पहिरोले अन्नपूर्ण गाउँपालिका-३ दानाको फगाममा भने दुई जनाको सकुशल उद्धार गरिएको छ। पहिरोमा फसेका उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमा पुगेको सुरक्षाकर्मीको टोलीले उद्धार गरेको हो।
उद्धार गरिएका दुवै जनालाई बेनी ल्याउन लागिएको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।
फगाममा स्थानीय गङ्गाबहादुर पाइजाको घर पहिरोले पुरेको दानास्थित ज्ञानप्रकाश माध्यमिक विद्यालयका शिक्षक बाबुराम पौडेलले जानकारी दिए।
यसैगरी, मालिका गाउँपालिका-३ औंलामा पनि पहिरोमा पुरिएका नागरिकहरूको सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए।
सडक र पैदलमार्ग अवरुद्ध भएकाले अन्नपूर्णका पहिरो प्रभावित बस्तीहरूमा नेपाली सेनाको हेलिकप्टरबाट राहत सामग्रीसहित सुरक्षाकर्मीको टोली पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिए।
बिहीबारदेखिको निरन्तर झरीका कारण म्याग्दीभर सडक सञ्जाल र विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द भएको छ। टेलिफोन तथा इन्टरनेटजस्ता सञ्चार सेवासमेत प्रभावित भएपछि जिल्लामा विपद् व्यवस्थापन र उद्धार कार्यमा थप कठिनाइ भइरहेको छ।
प्रकाशित: ११ आश्विन २०८३ १६:३७ आइतबार





