नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नं-१, प्रदेश सभा ‘ख’ बाट रामकृष्ण बोगटीले खुलातर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
फिक्कल गाउँपालिका-२ निवासी बोगटीले पार्टीमा युवा पुस्ताको भूमिका केवल समर्थक वा भीड परिचालनमा मात्र सीमित हुन नहुने बताउँदै नीति निर्माण र नेतृत्व विकासको मूल प्रवाहमा युवाको अर्थपूर्ण सहभागिताका लागि आफूले उम्मेदवारी दिएको बताए।
समय र नयाँ पुस्ताको आवाजलाई आत्मसात् गर्दै कांग्रेसको नीति, कार्यक्रम तथा कार्यशैलीमा युगानुकूल रूपान्तरण आवश्यक रहेको उनको भनाइ छ।
प्रविधिसँगै हुर्किएको नयाँ पुस्ताको सोच, अपेक्षा र समसामयिक प्रश्नहरूलाई सम्बोधन गर्न कांग्रेसको सङ्गठनलाई अझ खुला, गतिशील, प्रविधिमैत्री र युवामैत्री बनाउनुपर्नेमा बोगटीले जोड दिए।
पार्टीका अग्रजहरूको अनुभव र लामो योगदानको सम्मान गर्दै नवपुस्ताको ऊर्जालाई समेटेर मात्रै कांग्रेसलाई थप सुदृढ बनाउन सकिने उनको तर्क छ।
प्रकाशित: ११ आश्विन २०८३ २२:११ आइतबार





