८ पुस २०८१ सोमबार
image/svg+xml
समाज

'पोखरी ब्राण्डिङ' मा युवा

ठूला-ठूला कम्पनीहरूले आआफ्ना सामानहरू बजारमा बिकाउन ब्राण्डिङ गर्ने गरेको हामी सबैका लागि सामान्य हो। तर भक्तपुरका एक हुल युवाहरू भने आफ्नो टोलमा रहेको 'पोखरी ब्राण्डिङ' मा जुटेका छन्।

भक्तपुर नगरपालिका वडा न १० थालाछे नागपोखरीका युवाहरू टोलमा रहेको नागपोखरीको ब्राण्डिङमा जुटेका हुन्। भक्तपुरमा धेरै ऐतिहासिक पोखरीहरू रहेको, त्यसलाई भक्तपुर नगरपालिका अनि आआफ्नो वडा कार्यालयहरूले जोगाइराखेको तर त्यसलाई स्थानीयले आर्थिक पाटोसँग जोड्न नसकेको उनीहरूको बुझाइ छ। यही कारण पोखरीलाई ब्राण्डिङ गरेर आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गराउने र त्यसबाट स्थानीयलाई आर्थिक उपार्जनसँग जोड्ने योजना युवाहरूको छ।

यसका लागि युवाहरूले स्थानीय युवा सुरज ग्वाछालाई संयोजक समेत तोकेका छन्। संयोजक ग्वाछाको अगुवाइमा सम्भावित योजनाबारे थप विस्तृत छलफल गर्ने योजना उनीहरूको छ। 'पोखरीलाई धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटकहरूमाझ परिचित गराएर यहाँ आउने पर्यटकको सख्या वृद्धि गराउने हाम्रो याजना हो,' ती युवाहरूले भने, 'यसका लागि केकस्ता कामहरू गर्नुपर्छ, त्यसबारे विस्तृत छलफल गरेर योजना अगाडि बढाउने क्रममा छौँ।'

प्रारम्भिक योजनाअनुसार उनीहरूले साँगितिक कार्यक्रम गरेका छन्। टोलकै बाँसुरी प्रशिक्षक एवं काठमाडौँ विश्वविद्यालय संगीत विभागका पूर्व विभागीय प्रमुख एवं हालका सदस्य रभिम कपालीको टोलीलाई ल्याएर बाँसुरी बाजा प्रदर्शनी गरिएको थियो। भक्तपुर महोत्सवलाई स्थानीय रूपमा समापन नामकरण गर्दै उनीहरूले साँस्कृतिक कार्यक्रम गरेका थिए। यही अवसरमा स्थानीयहरूको घुइँचो समेत लागेको थियो।

अभियानका संयोजक सुरज ग्वाछा भक्तपुरका साँस्कृतिक धरोहरका रूपमा रहेको पोखरी, ढुगेधारा, मन्दिर, पाटीपौवालाई अर्थ उपार्जनसँग जोड्न सके स्थानीयको जीवनस्तर माथि उकास्न सहज हुने बताउँछन्। यही मनसायले आफूहरू अगाडि बढेको उनले बताए।

स्थानीय अनिल देउपाला आन्तरिक तथा बाह्य पर्यटकहरू पोखरीमा घुम्न आएपछि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पोखरीबाट स्थानीयले आयआर्जन गर्नसक्ने विश्वास गर्छन्। अहिले पोखरीको पश्चिमतिर रहेको चिया पसलमा पोखरीको दृश्य हेर्दै चिया खान आउनेहरूको सख्या उत्तिकै रहेको उनले बताए। साथै टोलमै विदेशी पाहुनालाई राख्न सुविधा सम्पन्न होटेलहरू पनि रहेको उनले जानकारी गराए। पर्यटकहरू पोखरी आइ घुम्ने, बस्ने वातावरण बनाउन सके स्थानीयको आयआर्जनमा सहयोग पुग्ने विश्वास उनको हो।

भक्तपुरको यो नागपोखरी भक्तपुर नगरको घना बस्तीभित्र पर्दछ। यहाँका प्रख्यात पोखरीहरू कमलविनायक पोखरी, रानीपोखरी, भाज्या पोखरी, तःपुखू (पोखरा) भने नगरको छेउछाउमा छन्। तर यो पोखरी नगरको बीच भागमा रहेकाले स्थानीयहरू बिहान र बेलुकी पोखरीमा मर्निग वाक, इभिनिग वाकमा आउँछन्। यही कारण भक्तपुर नगरपालिकाले यो पोखरीको एक छेउमा व्यायामका विभिन्न उपकरणहरू राखिदिएको छ, जहाँ आएर सबैले निःशुल्क रूपमा व्यायाम पनि गर्न सक्छन्। व्यायामका लागि विभिन्न मेशिनहरू नगरपालिकाले जडान गरिदिएको हो।

भक्तपुर नगरपालिका क्षेत्रमा मात्रै साना ठूला गरी ३४ वटा पोखरीहरू रहेको तंथ्याक छ। ती सबै पोखरीहरू जीवन्त पनि छन्। तर पनि ती सबै पोखरीभन्दा फरक छ, नागपोखरी। किनकि यो एउटै मात्रै पोखरी हो, जुन पोखरीमा नागको प्रतिमा प्रतिस्थापित छ। यही कारण यसको नाम नै नागपोखरी हुन गएको स्थानीय बताउँछन्। काठमाडौँ उपत्यकामै काठमाडौँको नागपोखरीपछिको नागको प्रतिष्ठान भएको पोखरी यही मात्रै रहेको बताइन्छ।

भक्तपुर नगरका अधिकांश पोखरी आयाताकारका छन्। तर भक्तपुर नगरपालिका वडा न १० मा पर्ने नागपोखरी भने वर्गाकार छ। नागपोखरीको मध्य भागमा नागको प्रतिमा प्रतिस्थापन गरिएको छ। मन्दिरको वरपर विभिन्न देवदेवीका मन्दिर, सत्तल, पाटी र ढुंगेधारा छन्। यो पोखरीको लम्बाइ ८४ फिट र चौडाइ ७२ फिट छ।

प्रकाशित: ३ पुस २०८१ १०:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App