शनिबार वीरगन्जमा दुई समुदायबीच भएको झडपपछि अनुसन्धानस्वरूप पक्राउ परेका व्यक्तिहरूको रिहाइको माग गर्दै एक समूहले मंगलबार राति वीरगन्जमा शान्ति सुरक्षामा चुनौती दिने गतिविधि गरेका छन्।
पर्सा प्रशासनका अनुसार पक्राउ परेका मध्ये एक समुदायका व्यक्तिहरूको पक्षमा उत्रिएको उक्त समूहले प्रहरीले एकतर्फी कारबाही गरेको भन्दै प्रदर्शन थालेको हो।

प्रहरीले भने दुवै समुदायका दोषी देखिएका व्यक्तिहरूलाई प्रमाणको आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको स्पष्ट पारेको छ।
वीरगन्जमा मंगलबार बेलुका प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्ने क्रममा समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो।
झडपपछि प्रदर्शनकारीहरू ‘जय श्रीराम’ नारासहित शहरका विभिन्न भागमा टायर बालेर प्रदर्शनमा उत्रिएका थिए।
प्रदर्शनका क्रममा समाचार संकलनका लागि घटनास्थल पुगेका पत्रकार अर्जुन गुप्ता र अनिल मिश्र झडपमा परी घाइते भएका छन्।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दोषी देखिएकालाई कानुनी प्रक्रियाअनुसार पक्राउ गरिएको स्पष्ट पार्दै शान्ति सुरक्षामा खलल पुर्याउने प्रयास कुनै हालतमा स्वीकार्य नहुने बताए।
उनले भने, ‘‘कानुन हातमा लिएर समाजमा हिंसा र अशान्ति फैलाउने जो–कोहीलाई कारबाही हुन्छ।’’
उनका अनुसार समुदायको नाममा विभाजन ल्याउने र दोषीको पक्षमा दबाब सिर्जना गर्ने प्रयास भइरहेको छ।
‘‘मेरो समुदायका मान्छे मात्र किन समातिएको भन्ने प्रश्न गर्दै प्रहरी कार्यालय घेराउ गर्नु र रातको समयमा प्रदर्शन गर्नु अनुचित कार्य हो,’’ उनले स्पष्ट पारे।
सबैपक्षीय बैठकको निर्णयअनुसार अनुसन्धान
शनिबारको घटनापछि आइतबार साँझ जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे सहमति गरेको थियो।
सहमति अनुसार वैशाख ३ गतेभित्र घटनामा संलग्न दोषीहरूलाई कानुनी कारबाहीका लागि पक्राउ गर्ने निर्णय भएको थियो।
बैठकमा अन्तरधार्मिक र सामाजिक सद्भाव कायम राख्ने, कानुनी प्रक्रिया अवलम्बन गर्ने तथा शान्ति सुरक्षामा सहयोग गर्ने सहमति पनि भएको थियो।
उक्त सहमतिपत्रमा प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू तथा हिन्दू र मुस्लिम समुदायका अगुवाहरूको हस्ताक्षर रहेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रका अनुसार अनुसन्धानको सिलसिलामा दुवै पक्षबाट दोषी देखिएका व्यक्तिहरूलाई पक्राउ गरिएको हो।
‘‘प्रशासनको निर्देशनअनुसार प्रमाणका आधारमा अनुसन्धान भइरहेकाले कसैलाई पक्षपाती व्यवहार गरिएको छैन,’’ उनले भने।
प्रकाशित: २ वैशाख २०८२ २२:३६ मंगलबार