१० वैशाख २०८२ बुधबार
image/svg+xml १७:११ अपराह्न
कला/संस्कृति

लमजुङमा गुञ्जियो ‘ब्याक टु नाइन्टिज’

तस्बिर: नागरिक

साङ्गीतिक विरासतलाई पुनर्जीवित गर्ने उद्देश्यसहित पोखराबाट सुरु गरिएको अभियान ‘ब्याक टु नाइन्टिज’ को तेस्रो संस्करण लमजुङको बेसीशहरमा उत्साहजनक सहभागिता बीच सम्पन्न भएको छ।

पोखरामा अत्यधिक सफलता पाएपछि देशव्यापी रूपमा विस्तार गरिएको अभियानअन्तर्गत बेसीशहर युथ सोसाइटी, सेरा लमजुङको संयोजनमा आयोजित कार्यक्रम ‘हाम्रो संगीत, हाम्रो अभियान– रक्तदाताको पहिचान’ भन्ने नारासहित सम्पन्न भएको हो। कार्यक्रममा ६ राष्ट्रियस्तरका ब्यान्डहरू एउटै मञ्चमा प्रस्तुत भएका थिए।

तस्बिर: नागरिक

कार्यक्रमको मूल उद्देश्य रक्त अभावको दीर्घकालीन समाधानका लागि ‘ब्लड डोनर्स एप’ निर्माण गर्नु रहेको आयोजकले जनाएका छन्।

सोही अभियानलाई साङ्गीतिक माध्यममार्फत सशक्त बनाउने प्रयासस्वरूप आयोजना गरिएको कार्यक्रममा डि–मर्चा, लेकाली, देउराली, ब्रोसिस, मध्याह्न र भेगाबोण्ड जस्ता ख्यातिप्राप्त ब्यान्डहरूले आ-आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दा दर्शकहरू मन्त्रमुग्ध बने।

तस्बिर: शिशिर गैरे

पानी परेपछि खुलेको सोमबार साँझ बेसीशहर साङ्गीतिक वातावरणमा रमायो। कार्यक्रमको सञ्चालन गर्दै सञ्चालक मनकुमार श्रेष्ठले जब व्याण्डहरूको नाम उच्चारण गर्थे, दर्शकहरू हुटिङ गर्दै उत्साह प्रकट गर्थे। गीत सुरू भएलगत्तै दर्शकहरू तालमा नाच्दै, गाउँदै सहभागी थिए।

तस्बिर: शिशिर गैरे

डि–मर्चाले ‘शिवजीको बस्ती छ’ र ‘झ्याम्म झ्याम्म’ प्रस्तुत गर्दा दर्शकहरू नाच्न थालिहाले। लेकालीले ‘यो मुटुमा’ र ‘पहिलो नजर’ मार्फत सजीवता थप्यो भने, कर्णदासको नेतृत्वमा रहेको मध्याह्न ब्यान्डले ‘सोँच्दासोँच्दै’, ‘मनमनै मनपराई सकेछु’, ‘जिन्दगीको के भरोसा’ जस्ता भावुक गीतमार्फत दर्शकलाई पुराना सम्झनामा फर्कायो।

तस्बिर: नागरिक

त्यसैगरी, ब्रोसिसको ‘चाइना कम्पनी’, देउरालीको ‘ढुंगे साँघुको मेलामा’ र भेगाबोण्डको ‘जीवन हो घामछायाँ’ ले कार्यक्रमलाई थप ऊर्जाशील बनायो।

तस्बिर: नागरिक

कार्यक्रममा सहभागी अधिकांश दर्शक आफूले बाल्यकालमा सुनेका तथा आफ्ना अभिभावक पुस्ताबाट सुनेका गीतहरूसँग सम्बन्धित भावनामा डुबेका देखिन्थे। संयोजक श्रेष्ठका अनुसार कार्यक्रमले तीन पुस्ताबीच साङ्गीतिक संवाद र अनुभव आदान–प्रदान गर्न सफल भएको छ।

तस्बिर: शिशिर गैरे

‘हामीले दर्शकलाई ९० को दशकमा फर्काउने उद्देश्य राखेका थियौं,’ श्रेष्ठले भने, ‘दर्शकले ती समयका गीतसँग आफ्नो बाल्यकाल, वातावरण र सम्बन्ध जोड्न सकेका छन् भन्ने अनुभूति पायौं। नयाँ पुस्ताले पनि ती गीतमार्फत अघिल्लो पुस्ताको सांगीतिक स्वाद र भावना बुझ्न सकेको देखियो।’

उनले ‘ब्याक टु नाइन्टिज’ अभियानअन्तर्गत आगामी संस्करण विराटनगर, भक्तपुर र चितवनमा आयोजना हुने जानकारी दिए।

सङ्गीतको माध्यमबाट देशका पुराना ब्यान्डहरूको पुनर्जीवन, नयाँ पुस्तालाई प्रेरणा, तथा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने दीर्घकालीन उद्देश्य बोकेको अभियानमा पोखरा महानगरपालिकाले प्रवर्द्धकको रूपमा साथ दिएको छ।

प्रकाशित: २ वैशाख २०८२ १९:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App