खानेपानीमन्त्री प्रदीप यादवले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा अब बोतल र जारको पानी बन्द गरिने बताएका छन्।
आज सिंहदरबार भित्रमा मेलम्चीको खानेपानी वितरणका लागि विभिन्न ठाउँ एवं धारा निर्माण गर्ने क्षेत्रको स्थलगत अनुगमन पश्चात् मन्त्री यादवले वर्षौदेखि सिंहदरबारमा प्रयोग गरिँदै आएको जार र बोतलको पानी अब सदाका लागि बन्द गरिने बताएका हुन्।
उनले भने,'सिंहदरबारमा वर्षौदेखि प्रयोग हुँदै आएका जार, बोतलको पानी विस्थापित गर्ने लक्ष अनुसार काम अगाडी बढी रहेको छ । यहाँ चाडै मेलम्चीको शुद्ध खानेपानी वितरण हुन्छ ।' प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत यहाँका मन्त्रालयहरूमा मेलम्चीको पानी वितरण गर्नका लागि मन्त्री यादव सहितको टोलीले आज अनुगमन गरेको थियो ।
यहीँ वैशाख अन्तिम साता सम्म सिंहदरबारमा मेलम्चीको सफा, शुद्ध पानी वितरण गरिने मन्त्री यादवले जिकिर गरे। उनले भने, 'मेलम्चीको शुद्ध पानी उपलब्ध भएपछि सिंहदरबारमा हाल प्रयोग भइरहेको बोतल र जारको पानी क्रमश: विस्थापन गर्ने मेरो स्पष्ट योजना रहेको छ । शुद्ध पानी सबैको पहुँचमा पुर्याउन हामी एकजुट भई अघि बढ्नुपर्छ ।'
सिंहदरबार स्वच्छ, पारदर्शी र जनमुखी प्रशासनको प्रतीक भएको र यसलाई अझ सक्षम बनाउने आफूहरूको साझा प्रयासमा साथ दिनु भएको भन्दै उनले सम्पूर्णमा आभार प्रकट गरे।
प्रकाशित: १० वैशाख २०८२ १७:१० बुधबार





