२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा निर्वाचन : एक मतदाता स्थलसहित १८ केन्द्र थप गरियो

आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदाता स्थलसहित १८ केन्द्र थप गरिएका छन्। जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनको तुलनामा अगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदातालाई थप सहज बनाउन केन्द्र र स्थल थप गरिएका हुन्।

विसं २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा जिल्लामा पाँच सय २३ मतदान केन्द्र रहेकोमा यस वर्ष १८ वटा थपिएर पाँच सय ४१ वटा मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिएका छन्।

यसैगरी विसं २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा दुई सय ७६ वटा मतदानस्थल कायम रहेकोमा यस वर्ष एउटा स्थल थपेर दुई सय ७७ वटा स्थल कायम गरेको उनले बताए। उनका अनुसार गरुडा नगरपालिका–६ मा नयाँ मतदान स्थल थपिएको हो। जिल्लामा २१ हजार एक सय ५६ जना मतदाता थपिएका छन्।

जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख दासका अनुसार रौतहटमा अहिले चार लाख ३६ हजार ६ सय ११ जना मतदाता रहेका छन्।  मतदाता थपिएसँगै मतदानस्थल र मतदान केन्द्र पनि थपिएको कार्यालय प्रमुख दासले जानकारी दिएका छन्।

विसं २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा चार लाख १५ हजार चार सय ५५ जना मतदाता थिए। दुई गाउँपालिका र १६ नगरपालिका रहेको जिल्लामा चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् यसमा एक सय ५७ वटा वडा रहेका छन्।

विसं २०७९ को निर्वाचनमा क्षेत्र नं १ बाट तत्कालीन नेकपा एसको तर्फबाट माधवकुमार नेपाल, क्षेत्र नं २ बाट स्वतन्त्र किरण साह, क्षेत्र नं ३ बाट आजपा अध्यक्ष प्रभु साह र क्षेत्र नं ४ बाट नेपाली कांग्रेसको तर्फबाट देवप्रसाद तिमल्सिना निर्वाचित भएका थिए। उक्त निर्वाचनमा चार लाख १५ हजार चार सय ५५  मतदातामध्ये दुई लाख ८२ हजार चार सय ३० मतदाताले मतदान गरेका थिए।

प्रकाशित: १४ पुस २०८२ ०७:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App