इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कूटनीति र आफूलाई निर्वाचित गर्ने अमेरिकी जनतालाई धोका दिएको आरोप लगाएका छन्। इरानसँग आणविक वार्ता भइरहेकै समयमा आक्रमण सुरु गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
विदेशमन्त्री अराघचीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘जब जटिल आणविक वार्तालाई घरजग्गाको कारोबार (रियल इस्टेट लेनदेन) जस्तो व्यवहार गरिन्छ र झूटले वास्तविकतालाई ढाक्छ, तब अवास्तविक अपेक्षाहरू कहिल्यै पूरा हुन सक्दैनन्। यसको परिणाम द्वेषका कारण वार्ताको टेबलमै बमबारी भएको छ। ट्रम्पले कूटनीति र उनलाई निर्वाचित गर्ने अमेरिकीहरूलाई धोका दिए।’
गत शनिबार इजरायलले इरानी सर्वोच्च नेता अयातोल्लाह अलि खामेनीको हत्या गरेपछि यो युद्ध सुरु भएको हो। युद्ध सुरु हुनुअघि अमेरिका र इरानबिच तीन चरणको आणविक वार्ता भए पनि कुनै सम्झौता हुन सकेको थिएन।
यसैबिच, इजरायली सेनाले बुधबार तेहरानमा आफ्नो एफ-३५ लडाकु विमानले इरानको याक-१३० विमानलाई खसालेको दाबी गरेको छ। इजरायलका अनुसार यो लडाकु विमानले गरेको पहिलो ‘एयर-टु-एयर’ कारबाही हो।
अर्कोतर्फ, इरानका न्यायपालिका प्रमुख घोलम होसेनी मोहसेनी इजेहेईले अमेरिका-इजरायल आक्रमणको समर्थन गर्नेलाई कडा चेतावनी दिएका छन्। सरकारी टेलिभिजनमा बोल्दै उनले भने, ‘अमेरिका र यहुदी शासनको इच्छाअनुसार केही बोल्ने वा गर्नेहरू शत्रुको पक्षमा छन्, उनीहरूलाई युद्धकालीन कानुनअनुसार व्यवहार गरिनुपर्छ।’ यसले शत्रुसँग सहकार्य गरेको अभियोगमा हिरासतमा रहेकाहरूले मृत्युदण्डको सजाय भोग्न बाध्य बनाउने सम्भावना बढाएको छ। एजेन्सी
प्रकाशित: २० फाल्गुन २०८२ १५:०३ बुधबार





