२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बंगलादेश : चुनावी गठबन्धनले विद्यार्थीको पार्टीमा फुट, धमाधम राजीनामा दिँदै टिकटका आकांक्षी

बंगलादेशको सबैभन्दा ठूलो इस्लामिक पार्टी जमात-ए-इस्लामीले सन् २०२४ को विद्रोह नेतृत्व गर्ने विद्यार्थीहरुले गठन गरेको राष्ट्रिय नागरिक पार्टी(एनसिपी)सँग सिट बाँडफाँड सम्झौता गरेको छ। यसले राष्ट्रिय नागरिक पार्टीमा फुट ल्याएको छ।

सन् २०२४ अगस्टमा विद्यार्थीहरुको विद्रोहले पूर्वप्रधानमन्त्री शेख हसिनालाई पदबाट हटाएपछि हुन लागेको पहिलो चुनाव २०२६ फेब्रुअरी १२ मा हुने भएको छ। जमातले बहुमत ल्याएर सरकार बनाउने तयारी गरेको छ। हसिनाको १५ वर्षे शासनमा दबाइएका इस्लामिक आन्दोलनहरु पुनः सक्रिय भएका छन्।

जमातका नेता शफिकुर रहमानले सानो उदारवादी प्रजातान्त्रिक पार्टीसँग पनि सम्झौता गरेको बताए। उनले भने, ‘हामी गठबन्धनमा आठ दल थियौँ। अहिले दुई नयाँ दल हामीमा आएका छन्।’

जमातको गठबन्धनमा इस्लामिक दलहरुको बाहुल्य छ। १७ करोड जनसंख्या भएको मुस्लिम बहुल देशमा इस्लामवादीहरुको उदयले अल्पसंख्यकहरुमा चिन्ता बढाएको छ। कट्टरपन्थीहरुले सांस्कृतिक गतिविधिमा प्रतिबन्ध मागेका छन्।

गठबन्धनअघि राष्ट्रिय नागरिक पार्टीका ३० सदस्यले पार्टी प्रमुख नाहिद इस्लामलाई पत्र लेखेर विरोध गरे। उनीहरुले पार्टीको विचारधारा जमातको भन्दा फरक रहेको बताए।

टिकट आकांक्षी तस्नीम जाराले राजीनामा दिएकी छन् भने तस्नुवा जाबिनले पनि छोडेकी छन्। पार्टीकी वरिष्ठ नेता सामन्था शर्मिनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘इस्लामवादीहरूसँगको गठबन्धनका लागि पार्टीले ठूलो मूल्य चुकाउनु पर्नेछ।’

राष्ट्रिय नागरिक पार्टीले मार्चमा गठन भएपछि लोकतान्त्रिक र जनमुखी राजनीति गर्ने वाचा गरेको थियो। पार्टीले गठबन्धनबारे विज्ञप्ति जारी गरेको छैन।

हसिनाको अवामी लिगलाई चुनावबाट प्रतिबन्धित गरेपछि बंगलादेश राष्ट्रवादी पार्टीले जित्ने अनुमान छ। यसका कार्यवाहक अध्यक्ष तारिक रहमान १७ वर्ष निर्वासनपछि फर्किएका छन्। एजेन्सी

प्रकाशित: १४ पुस २०८२ ०६:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App