प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा प्रत्यक्षतर्फ सात र समानुपातिकमा तीन प्रतिशत मत बदर भएको छ। प्रत्यक्षतर्फ तीन हजार १७६ र समानुपातिकतर्फ एक हजार ७१० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
विसं २०७९ मा भएको निर्वाचनको तुलनामा यस वर्ष दुई वटै प्रणालीको मत बदरको दर बढेको हो।
यही फागुन २१ गते बिहीबार भएको निर्वाचनमा प्रत्यक्षतर्फ ४६ हजार ३३६ मत खसेकोमा ४३ हजार १६० मत सदर भएको थियो। समानुपातिकतर्फ ४७ हजार २६१ मत खसेकोमा ४५ हजार ९०६ मत सदर भएको जिल्ला निर्वाचन अधिकृत विमल गौतमले बताए।
विसं २०७९ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ४९ हजार ६९९ मत खसेकामा चार दशमलव दुई प्रतिशत अथवा दुई हजार ८५ मत बदर र ४७ हजार ६१४ मत सदर भएको थियो।
अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ ५० हजार ३७८ मत खसेकामा पाँच दशमलव २५ प्रतिशत अथवा दुई हजार ६४६ मत बदर र ४७ हजार ७३२ मत सदर भएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीको अभिलेखमा उल्लेख छ।
मत बदरको दर बढ्नुमा मतदाता शिक्षाको कमी प्रमुख कारण देखिएको छ। जिल्ला निर्वाचन कार्यालय म्याग्दीले ४५ वटै वडामा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी बन्न नसकेको पाइएको छ।
राजनीतिक दलका नेता कार्यकर्ता र उम्मेदवारका समर्थकहरूले पनि मतदाता शिक्षामा ध्यान दिन नसक्दा मत बदरको दर बढेको हो। मतपत्रमा एकभन्दा बढी चिह्न लगाउने, गलत स्थानमा छाप लगाउने तथा खाली मतपत्र हाल्नेजस्ता कारणले मत बदर भएको निर्वाचन अधिकारी गौतमले बताए। ८६ हजार ३९७ मतदाता रहेकोमा ५४ प्रतिशत मत खसेको थियो।
प्रकाशित: २५ फाल्गुन २०८२ ११:४४ सोमबार




-600x400.jpg)
