२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

सिमलताल बस दुर्घटनाः रित्तै फर्किए आफन्त, पाँच वटा शवको सनाखत हुन सकेन

त्रिशूली नदीमा बेपत्ता भएका आफन्त भेटिने आसमा भरतपुर अस्पतालको शव गृहमा आउनेहरूको भिडभाड हुन्थ्यो। एक साता अघिसम्म त्यहाँ काम गर्ने प्रहरीलाई समेत भ्याई नभ्याई थियो। तर, हिजोआज भने अस्पतालको शव गृह सुनसान जस्तै छ। शव गृहमा दश वटा शव भएपनि कोही आफन्त भेटिँदैनन्।

त्रिशूली तथा नारायणी नदीमा शव फेला पर्न छाडेपछि सिमलताल दुर्घटना भएर बेपत्ता भएका आफन्तहरू आउन छाडेको प्रहरीले बताएको छ। 

‘यहाँ नारायणी नदीमा फेला परेर ल्याएका शव पाँच र अन्य स्थानमा फेला परेका गरी हाल दश वटा शव छन्,’ शव गृहमा कार्यरत प्रहरीले भने ‘एक साताभन्दा बढी भयो यहाँ शव पहिचानका लागि समेत कोही आउनुभएको छैन।’ पछिल्लो पटक साउन ६ गते एक जना यात्रुको शव सनाखत भएको थियो।

चितवनको सिमलतालमा बस दुर्घटना भएको १७ दिन बितेको छ। गत असार २८ मा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २४९५ नम्बरको गणपति बस लेदोसहितको पहिरोमा पुरिएर त्रिशूली नदीमा बेपत्ता भएको थियो।

दुबै बसमा गरी ६५ जना यात्रु सवार थिए। तीमध्ये ३ जनाले ज्यान जोगाएका थिए भने अन्य ६२ जना यात्रु बससँगै नदीमा बेपत्ता भएका थिए। दुर्घटना लगतै बस र बसमा सवार यात्रुको खोजी कार्य सुरु गरिएकोमा हालसम्म २४ जनाको मात्रै शव फेला परेको छ। ती मध्ये १९ जना यात्रुको मात्र शव फेला परेको छ। नारायणीमा फेला परेका पाँच वटा शवको अझै पहिचान हुन सकेको छैन। सनाखत नभएका शवमा पाँच जना पुरुष रहेका छन्।

चितवनको भरतपुर महानगरपालिका २६ स्थित सिसुवारमा भेटिएको शवको समेत पहिचान हुन सकेको छैन। त्यस्तै साउन ३ गते सिसुवारमा भेटिएका दुई शव, साउन १ गते मध्यविन्दु २ भुताहमा भेटिएको एक शव र साउन चार गते विनय त्रिवेणी ६ मा भेटिएका एक जना पुरुषको शवको पहिचान नभएको नभएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ।

प्रशासनका अनुसार नारायणी नदीमा अन्तिम पटक साउन ४ गते एक जना पुरुषको शव फेला परेको थियो। अब फेला पर्ने शवको पहिचान गर्नसमेत कठिन हुने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। घटना भएको एक साताभित्र भेटिएका शवको समेत पहिचान गर्न कठिन भएको छ। अब भेटिने शवको अनुहार हेरेर पहिचान गर्न सकिँदैन। पुरानो मेडिकल कलेजमा कार्यरत चिकित्सक डा.सुदिप केसी गर्मी मौसममा मृत्यु भएको चार पाँच दिनपछि शव पहिचान गर्न कठिन हुने उनले बताए। ‘गर्मीमा लास छिटो सड्छ। अब त्रिशूलीमा बेपत्ता भएका यात्रुहरूको शव भेटिएपनि मानव कंगाल मात्र फेला पर्ने हो’–उनले भने।

नियम अनुसार पहिचान नभएका शवहरू ३५ दिनसम्म राख्नुपर्ने हुन्छ। त्यसपछि आफन्त कोही नआएको खण्डमा प्रहरी मार्फत स्थानीय तहलाई जिम्मा लगाउने भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले बताए। 

भरतपुर अस्पतालमा १२ वटा शव राख्न मिल्ने फ्रिज छन्। त्यसमध्ये ११ वटाले मात्र काम गर्छ। लामो समयसम्म फ्रिजले पनि काम नगर्ने उनले बताए। ‘फ्रिजले काम गर्ने भनेको छ सात दिन मात्रै हो। त्यसपछि शव सुक्दै जान्छ’,– उनले भने। त्रिशूली नदीमा बस बेपत्ता भएको तीन दिनपछि नारायणीमा शव फेला पर्न थालेका थिए। बगेर भारतसम्म पुगेका १३ वटा शव चितवन ल्याइएको थियो।

१२ जना भारतीय टोली र अन्य आवश्यकता अनुसार नेपाली प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षा टोली खोजी कार्यमा जुटे पनि बस भेटिन सकेको छैन। बेपत्ता ४३ जना यात्रुको कुनै पत्ता लागेको छैन। प्रजिअ यादवले दुर्घटनामा परेकाहरूका आफन्तहरू घर फर्के पनि सम्पर्कमै रहेको बताए।

त्रिशूलीमा हराएका बस र यात्रु खोज्न आएका भारतीय टोली स्वदेश फर्किँदै

त्रिशूली नदीमा खसेका दुई वटा बस तथा यात्रुको खोजी गर्न आएको भारतीय टोली आइतबार स्वदेश फर्किँदै छ। एक हप्ताको लागि आएको भारतको विपत् व्यवस्थापन गर्न बनेको एनडिआरएफको टोली आइतबार नै फर्कने जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ।

गएको आइतबारदेखि भारतीय टोलीले नेपालको सशस्त्र प्रहरी र नेपाली सेनासँग मिलेर बेपत्ता बसको खोजी गरेको थियो। आजसम्म सक्दो प्रयास गरेपनि उपलब्धि नभएको र एक हप्ताको समय लिएर आएको समय पनि सकिएकाले टोली फर्किन लागेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

‘सुरक्षा समितिको बैठकमा भारतीय टोलीको हालसम्मको प्रगति र प्रयोग भएका विधि, प्रविधि र अबको सम्भावना सहितको समीक्षा, साथै हाम्रो विपद् व्यवस्थापन र खोज तथा उद्धार कार्यमा गरेको योगदानमा धन्यबाद दिन्छौँ’, प्रजिअ यादवले भने ‘संभवत उहाँलाई आज नै बिदाइ गरिन्छ।’

 भारतबाट १२ जनाको टोली अघिल्लो शनिवार चितवन आएको थियो। सो टोलीले आइतबारदेखि काम सुरु गरेको थियो। उनीहरुले सोनार क्यामेर सहित त्रिशूली र नारायणी नदीमा चुम्बकको प्रयोग गरेर खोज तथा उद्धार कार्यमा जुटेका थिए।

खोजीको क्रममा एनडिआरएफले ल्याएको १९ किलाको चुम्बक त्रिशूली नदीमा समेत हराएको छ। भारतीय टोलीले १९ किलो र १४ किलोको चुम्बक मगाएको थियो। नयाँ रणनीति अनुसार, नेपाली सुरक्षाकर्मीले खोजी कार्यलाई भने निरन्तर जारी राख्ने प्रजिअ यादवले जानकारी दिए। 

प्रकाशित: १३ श्रावण २०८१ १२:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App