८ वैशाख २०८१ शनिबार
समाज

आगलागी नियन्त्रणमा न जनशक्ति न उपकरण

एक वर्षमा ११० जनाको मृत्यु, साढे दुई अर्बबराबरको आर्थिक क्षति

कालिकोट जिल्लाको खाडाचक्र नगरपालिका– ५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परी एकै घरका बाबुछोरीको मृत्यु भयो। डढेलोमा परी गम्भीर घाइते भएका ५० वर्षीय बाबु नन्दराम चौलागाईं र छोरी हेमन्तीको मृत्यु भएको हो। हेमन्ती घरनजिकै वनमा गोठालो गएका बुबालाई दिउँसोको खाजा पुर्‍याउन गएकी थिइन्। त्यही बेला बाबुछोरी डढेलोमा परेका थिए। डढेलोले नन्दरामका ४५ वटा बाख्रासमेत खायो।

भोजपुरको हतुवागडी गाउँपालिका– ७ मा यही चैत १० गते गोठमा आगलागी हुँदा जलेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भयो। सोही दिन मोरङको रंगेली–३ स्थित सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर जलेर नष्ट भए। आगलागीबाट उक्त बस्तीका २५ परिवार विस्थापित बने।

त्यस्तै यही चैतकै पहिलो साता मोरङको पथरी शनिश्चरे– १ बुद्धचोकस्थित कोसी चिउरा मिलमा आगलागी हुँदा एक करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भयो। उदयपुर रौतामाई गाउँपालिका– ३ भोर्लेनीस्थित नवउदय सामुदायिक जंगलमा लागेको आगो बस्तीमा पुगेपछि ६ वटा घर, लत्ताकपडा र खाद्यान्नसबै जलेर नष्ट भएको गृह मन्त्रालयले जनाएको छ।

माथिका घटना दृष्टान्त मात्र हुन्। आगलागी र डढेलोका घटना बर्सेनि बढिरहेका छन्। यसबाट मानवीय, आर्थिक र पर्यावरणीय क्षति बढ्दै गए पनि रोकथामका लागि सरकारले पर्याप्त र प्रभावकारी पूर्वतयारी गरेको देखिँदैन। आगलागी भइसकेपछि पनि तत्कालै नियन्त्रणमा ल्याउन आवश्यक उपकरण, जनशक्ति र स्रोतसाधन परिचालन गर्न सकेको पाइँदैन।

अघिल्लो वर्षको चैत १३ देखि यही चैत १३ गते सम्म मुलुकमा डढेलो र आगलागीका घटनामा परी ११० जनाको मृत्यु र ५२९ जना घाइते भएको सरकारी आँकडा छ। यस अवधिमा चार हजार ३४३ वटा डढेलो र आगलागीका घटना भए। यसबाट करिब साढे दुई अर्बबराबरको आर्थिक नोक्सानी भएको अनुमान छ। आगलागी र डढेलोबाट एक हजार १५४ वटा पूर्वाधारमा क्षति पुगेको र एक हजार ९८९ वटा पशुचौपाया मरेको सरकारी आँकडा छ।

विपत् पोर्टलमा राखिएको तथ्यांकअनुसार मंगलबार देशका विभिन्न स्थानमा रहेका ९६ ठाउँमा डढेलो लागिरहेको छ। छिटफुट वर्षा भएकाले डढेलो नियन्त्रणमा राहत मिलेको विपत् व्यवस्थापन प्राधिकरणका अधिकारीहरू बताउँछन्। पछिल्लो एक दशकको सरकारी आकडा हेर्दा मुलुकमा २३ हजार आगलागी र डढेलोका घटना भएका छन्। ती घटनामा परी ९०० जनाको ज्यान गएको छ।

आगलागी र डढेलोबाट बर्सेनि मानवीय र आर्थिक क्षति भइरहँदा पनि रोकथामका लागि राज्य पक्षबाट प्रभावकारी पूर्वतयारी र नियन्त्रणमा आधुनिक प्रविधिसहित जनशक्ति व्यवस्थापनमा सक्रियता नदेखाइएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। मानवीय र भौतिक क्षतिको विवरण सरकारले राखे पनि वनजंगल जलेर खरानी हुँदा कति वन्यजन्तु मरे, कति बहुमूल्य जडीबुटी नष्ट भए, जैविक विविधतासँगै पारिस्थितिकीय प्रणाली र जलवायुमा असर परेको छ भन्नेबारे कुनै लेखाजोखा छैन।

आगलागी नियन्त्रणमा प्राविधिक र प्रविधिको अभाव देखिएको छ। त्यस्तै राज्यका स्थायी संयन्त्र र तीन तहका सरकारबीच पनि समन्वय अभाव छ। विद्यमान् राज्य संयन्त्रहरू उत्तरदायी बन्न नसक्दा आगलागीका घटना बढिरहेको जानकारहरू बताउँछन्।

नेपालमा प्रायः मानव क्रियाकलापकै कारण डढेलो र आगलागी हुने गरेको अध्ययनबाट देखिएको छ। वनमा झाडीमा लगाएको आगो अनियन्त्रित हुँदा र चुरोटका ठुटा ननिभाई फाल्दा डढेलो लागेको पाइएको छ। वनमा करिब ६४ प्रतिशत नियतवश र ३२ प्रतिशत मानवीय लापरबाहीका कारण आगलागी हुने गरेको अध्ययनले देखाएको छ।

प्राकृतिक कारणबाट पनि डढेलो र आगलागी हुने गरेको पाइएको छ। चट्याङ पर्दा पनि बस्तीमा र वनमा आगलागी हुने गरेको छ। सुक्खायाममा तापक्रममा वृद्धि र रूख आपसमा ठोकिएर घर्षण हुँदा उत्पन्न आगो फैलिएर पनि डढेलो लाग्ने गरेको अध्ययनले देखाएको छ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता गोमादेवी चेम्जोङका अनुसार वन क्षेत्र बढ्दो र खेतीपाती गर्ने चलन घट्दो क्रमले वनबाट उत्पादन हुने घाँसदाउरा, पातपतिंगर उपयोगमा आउन सकेका छैनन्। यसले वनमा लागेको आगो फैलिन सहयोग पुग्छ। जसले गर्दा आगो नियन्त्रण गर्न कठिन हुने गरेको छ।

उनले भनिन्, ‘सहरी क्षेत्रमा जोखिम आकलन नगरी आवास बसाउँदा पनि आगलागीका घटना हुने गरेका छन्। घरमा खाना पकाउने एलपी ग्यास प्रयोग, बिजुली वाइरिङमा सावधानी नअपनाउँदा पनि सहरमा आगलागी हुने गरेको देखिएको छ। कतिपय सहरी बस्तीमा दमकलसमेत गुड्ने बाटो नहुँदा क्षति डरलाग्दो छ।’

घर, बस्ती र वन क्षेत्रमा लागेको आगो नियन्त्रणका लागि केही फायरपम्प उपयोगमा ल्याउने गरिएको छ। ती पम्पले दुई किलोमिटर क्षेत्रका लागि मात्र काम गर्न सक्छन्। सहरमा अग्लाअग्ला घर बनिरहेका छन्। ती घरमा आगो लागे नियन्त्रणका लागि जमिनबाटै पानी र ग्यास हान्नुपर्ने अवस्थाले निकै कठिन बन्ने गरेको डढेलो तथा आगलागीविज्ञ सुन्दर शर्मा बताउँछन्।

वन विभागसँगसमेत डढेलो नियन्त्रणका लागि कुनै संयन्त्र छैन। देशभर जम्मा १६३ वटा दमकल छन्। वनमा लाग्ने डढेलो नियन्त्रणमा लिन मुलुकमा भएका दमकल उपयुक्त नभएको अनुभव शर्माले सुनाए। ‘भौगोलिक विकटता, भिरालो भूभागलगायत कारणले आगो नियन्त्रणमा लिन कठिन हुने गरेको छ,’ उनले भने।

सरकारले डढेलो नियन्त्रण रणनीति (वन डढेलो जोखिम न्यूनीकरण राष्ट्रिय कार्य ढाँचा २०७९–२०८७ र वन नीति २०७५) कार्यान्वयनमा ल्याइएको छ। यो रणनीति प्रदेश र स्थानीय तहमा पनि कार्यान्वयनमा ल्याइएको छ। डढेलो व्यवस्थापन कार्यका लागि जिम्मेवारी तोकी सांगठनिक संरचना स्थापना गर्ने नीतिगत व्यवस्था भए पनि त्यसो हुन नसकेको प्राधिकरणका अधिकारी बताउँछन्।

‘हामीसँग उपकरण औजारदेखि प्राविधिक ज्ञानसमेत छैन। उपयुक्त उपकरण प्रयोग गरी समुदायमा आधारित डढेलो व्यवस्थापन कार्यलाई बढावा दिनेतर्फ पनि चासो देखाइएको छैन। जनचेतना जगाउने र सामुदायिक वन समूहको क्षमता विस्तार गर्नेजस्ता काममा सरकारको लगानी देखिएको छैन,’ ती अधिकारीले भने।

प्राधिकरणमा एकजना मात्रै डढेलो र आगलागीविज्ञ छन्। अनुभवी र विज्ञ कर्मचारी अभावले काम गर्न कठिन भएको प्राधिकरणका अधिकारी बताउँछन्। पालिकास्तरमा विपत् संयन्त्र खडा भए पनि स्रोत अभावमा क्षमता विकास अभ्यास नभएको प्रवक्ता चेम्जोङले बताइन्। आगलागी र डढेलो नियन्त्रण गर्ने जिम्मेवारी सुरक्षाकर्मीको मात्र हो भन्ने मानसिकता स्थानीय तहसम्म पुगेकाले पनि विपत्सम्बन्धी संयन्त्रहरूलाई सशक्त बनाउन नसकिएको अधिकारीहरू बताउँछन्।

स्थानीय वन उपभोक्ता समूहमा पनि जनचेतना जगाउने, दिगो वन व्यवस्थापनका लागि पोखरी बनाउने काम पनि नभएको चेम्जोङले बताइन्। ‘नागरिक पनि सचेत र जिम्मेवार बन्नुपर्ने हुन्छ। व्यक्ति र समुदाय जिम्मेवार नहुँदा पनि आगलागीका घटना बढिरहेको र नियन्त्रणमा समय लागिरहेको छ’, उनले भनिन्।

सरकार डढेलो रोकथाम र नियन्त्रणमा भन्दा राहत वितरणमा बढी केन्द्रित देखिएको छ। आगलागी र डढेलोबाट मृत्यु भए मृतकका परिवारलाई २ लाख रूपैयाँ क्षतिपूर्ति सरकारले दिन्छ। घाइतेको हकमा उपचार खर्च सरकारले बेहोर्ने व्यवस्था छ। घर जले नष्ट भएमा पुनर्निर्माणका लागि हिमालमा ५ लाख, तराईमा ४ लाख र पहाडमा ३ लाख रूपैयाँ सररकारले दिन्छ।

अस्ट्रेलियाबाट डढेलो नियन्त्रण विज्ञ आउने

आगलागी र डढेलोबाट कसरी जोगिने भन्ने विषयमा अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी लिन अस्ट्रेलियाका दुईजना विज्ञलाई बोलाइने भएको छ। राष्ट्रिय विपत् व्यवस्थापन तथा जोखिम न्यूनीकरण प्राधिकरणले यस्तो योजना बनाएको हो। ती विज्ञबाट आगलागी हुन नदिन, त्यसबाट हुने क्षति कम गर्न पूर्वतयारी कसरी गर्ने, बस्ती र बनमा आगलागी भएपछि कसरी नियन्त्रणमा लिने भन्नेमा विषयमा अन्तर्राष्ट्रिय अनुभव र अभ्यासको जानकारी लिइने छ।

आगलागी हुन नदिन र आगलागी भएमा त्यसबाट जोगिन गर्नुपर्ने पूर्वतयारी, आगलागी नियन्त्रण, क्षति आकलनमा अमेरिका, अस्ट्रेलिया, क्यानडालगायतका विकसित मुलकले गर्दै आएको अभ्यासलाई अन्य देशले स्वीकार गर्दै आएका छन्। ती मुलुक आगलागी र डढेलो नियन्त्रणमा स्रोतसाधन र प्रविधिले सक्षम मानिन्छन्।

नेपालमा आगलागी र डढेलोबाट भएको क्षतिको अध्ययन, अनुसन्धान र मूल्यांकन गर्न, आगलागी नियन्त्रण र रोकथामका लागि प्राविधिक र सैद्धान्तिक ज्ञान दिन अस्ट्रेलियाबाट दुईजना विज्ञ नेपाल आउन लागेका हुन्। उनीहरू मे महिनामा आउने छन्। उनीहरू नेपाल सरकारको आग्रहमा काठमाडौंस्थित अस्ट्रेलियाली दूतावासको प्राविधिक सहयोगअन्तर्गत आउन लागेका हुन्। उनीहरूले प्राधिकरणका कर्मचारीलाई प्राविधिक र सैद्धान्तिक ज्ञान, अभ्यास, तालिम दिनेछन्।

उनीहरूले सात महिना नेपालमै बसेर र पाँच महिना अस्ट्रेलियाबाट अनलाइनमार्फत ज्ञान र सिप हस्तान्तरण गर्नेछन्। डढेलो विज्ञ सुन्दर शर्माले अस्ट्रेलियाबाट विज्ञ झिकाएर ज्ञान र सिप सिक्नु राम्रो काम भएको बताए। उनीहरूले हस्तान्तरण गर्ने प्राविधिक ज्ञान, सिप, अनुभव र अभ्यासबाट नेपाललाई फाइदा पुग्ने उनको विश्वास छ। नेपालमा आगलागी नियन्त्रण र त्यसबाट हुने क्षतिको मूल्यांकन परम्परागत रूपमा हुँदै आएको छ।

प्रकाशित: २१ चैत्र २०८० ०७:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App