१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

काठमाडौँका फुटपाथबाट झिकिएका पुराना टायल गायब

चालु आर्थिक वर्षभित्रै सक्नेगरी काठमाडौं महानगरपालिकाले महानगरभित्रका मुख्य सडकका दुवैतिर सडक पेटीमा पुरानो टायल झिकेर रङ्गिन टायल (मल्टीकलर टायल) राख्न सुरु गरेको छ। 

सडकका दुवै पेटीमा गरी करिब ६० किलोमिटर दुरीमा महानगरले रङ्गिन टायल राख्न सुरु गरेको हो। यो योजना एक अर्ब २५ करोड रुपैयाँको हो।

यता, सडक डिभिजन काठमाडौँले भने महानगरले फुटपाथबाट झिकेका पुराना टायलको हिसाब किताब महानगरसँग मागेको छ। यस विषयमा जानकारी माग्दै सडक डिभिजन काठमाडौँले महानरलाई चिठी समेत पठाइसकेको छ। 

महानगरले भने यस विषयमा हिसाबकिताब दिन नसकेको सडक डिभिजन काठमाडौँका प्रमुख नारायणदत्त भण्डारीको भनाइ छ। महानगरका फुटपाथबाट झिकिएका पुराना टायलमध्ये केही अनाधिकारिक व्यक्तिबाट बिक्री भएको हुनसक्ने आशंका सडक डिभिजनका कर्मचारीहरूले गरेका छन्। 

‘हामीले थाहा पाएअनुसार केही अनाधिकारिक व्यक्तिहरूले प्रतिगोटा दुई रुपैयाँका दरले पुराना टायल बिक्री गरेको पाइएको छ,’ सडक डिभिजन काठमाडाैंका एक कर्मचारीले भने, ‘त्यसैले हामीले महानगरसँग पुराना टायलको हिसाबकिताब खोजको हौँ। तर महानगरले हिसाब किताब दिन मानेको छैन।’

गत माघ १२ गतेबाट काठमाडौँ महानगरपालिकाको सार्वजनिक निर्माण विभागको प्रमुख पदबाट अवकाश पाएका रामबहादुर थापाले भने फुटपाथबाट झिकिएका पुराना टायलहरूको उचित सदुपयोग भएको दाबी गरे। 

उनका अनुसार फुटपाथबाट झिकिएका पुराना टायल नेपाली सेना, सशस्त्र प्रहरीको क्याम्प, महानगरको आफ्नै पार्किङ रहेको ठाउँ र काठमाडौँका सामुदायिक स्कुलहरूलाई दिएको बताए। 

‘बाँकी रहेका टायल सडक विभागको कार्यालय रहेको पेप्सीकोलमा लगेर थुपारेका छौ’ उनले भने। तर सडक डिभिजन काठमाडौँका प्रमुख भण्डारीले भने फुटपाथबाट झिकिएका पुराना टायलहरूका रेकर्ड महानगरले सडक डिभिजनलाई नपठाएको र यस विषयमा जानकारी समेत नभएको दाबी गरे। 

‘महानगरसँग पुराना टायलको उचित व्यवस्थापनका लागि हामीले माग गरेका छौँ,’ उनले भने, ‘तर उचित व्यवस्थापन भएको रेकर्ड हामीले पाएका छैनौँ।’

महानगरका अनुसार चालु आर्थिक वर्षदेखि महानगरले काठमाडौँमा थापाथली–त्रिपुरेश्वर हुँदै कलङ्कीसम्म, लैनचौरदेखि महाराजगन्जसम्म, तीनकुने, एयरपोर्ट, गौशाला, चाबहिल, नक्साल भाटभटेनी महाराजगञ्ज, ठमेल क्षेत्र, नरदेवी, क्षेत्रपाटी, बागमती कोरिडोर, धोवीखोला कोरिडोर, धुम्बाराही, बालाजु, कालीमाटी बल्खु, कोटेश्वर पेप्सीलगायतका ३० ठाउँमा महानगरले पुराना टायल हटाएर नयाँ टायल राख्न सुरु गरेको छ। 

महानगरको फुटपाथ स्तरोन्नति कार्यक्रमअन्तर्गत नयाँ टायल राख्न सुरु गरिएको महानगरको भनाइ छ।

काठमाडौं सडक डिभिजनले भने तिनकुनदेखि गौशाला चोकसम्म, थापाथालीदेखि कलङ्कीसम्म, नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, बागबजारदेखि सिनामंगलसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म, लैनचौरदेखि बालाजु पुलसम्म मात्र डिभिजनले महानगरलाई पुराना टायल हटाएर नयाँ टायल राख्न सहमति दिएका हो। 

तीबाहेक अन्य ठाउँमा सडक डिभिजनले सहमति नै नदिएको सडक डिभिजन काठमाडौँका प्रमुख भण्डारीले बताए। डिभिजनका अनुसार डिभिजनले सहमति दिँदा पनि महानगरसँग तीनवटा सर्त राखेको छ। 

पुराना टायल झिकेर नयाँ टायल राख्दा विद्युत्, खानेपानी, टेलिफोन, इन्टरनेट लगायतका सेवामा क्षति हुन नदिन सेवा प्रदायक निकायसँग अनिवार्य समन्वय गर्नुपर्ने, पुराना टायल, कार्बन स्टोन, रेलिङलगायतका सामान डिभिजनको कार्यालयमा दाखिला हुनुपर्ने र निर्माण सुरु गर्नु अगाडि नै सडक डिभिजनका प्राविधिकसँग महानगरले समन्वय गर्नुपर्ने सर्त सडक डिभिजन काठमाडौँले राखेको छ। 

सडक डिभिजनले राखेका सर्तमध्ये एउटा सर्त पनि महानगरले पूरा नगरेको सडकका कर्मचारीहरूको भनाइ छ।

महानगरका कर्मचारीका भनाइ अनुसार फुटपाथबाट झिकिएका पुराना टायलमध्ये अधिकांश टायल बिग्रेका, भत्किएका तथा पुनः प्रयोग गर्न नमिल्ने अवस्थामा छन्। प्रयोग गर्न मिल्ने टायलको उचित सदुपयोग गरिएको छ। यस भनाइलाई सडक डिभिजन काठमाडौँका कर्मचारीहरू अस्वीकार गर्छन्। महानगरबाट झिकिएका पुराना टायलमध्ये अधिकांश टायल प्रयोग गर्न मिल्ने उनीहरूको दाबी छ। यसबाट राजस्व बढ्ने र पुराना टायल पुनः प्रयोग गर्न सकिने सडकका कर्मचारीको भनाइ छ। 

सडक डिभिजन काठमाडौँका अनुसार सडक डिभिजनले अनुमति दिएका १८ किलोमिटर सडकमा पुराना टायल झिकेर नयाँ टायल राख्दा २७ हजार वर्ग मिटरमा तेस्रो ब्लक टायल तथा ठाडो ढुङ्गा प्रयोग गर्न सकिन्छ। 

यसबाट हिसाब गर्दा करिब ६० किलोमिटर सडकमा पुरानो टायल झिकेर नयाँ टायल राख्दा करिब ९० हजार वर्ग मिटरमा तेस्रो ब्लक तथा ठाडो ढुङ्गा प्रयोग हुनेछ।

प्रकाशित: २ फाल्गुन २०८० १४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App