१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

मुस्ताङी भन्छन्ः जलवायु परिवर्तनलाई कमजोर नठानौं

कोरला र कागबेनीमा आकाशबाटै निरिक्षण

मुस्ताङको जोमसोममा बुधबार जलवायु संवादमा सहभागि प्रधानमन्त्री पुष्पकमल दाहाल। तस्बिरः नागरिक

कहिले हिमपात त कहिले बाढी पहिरोको मार, त्यसबाहेक बेलाबेला हिमपहिरोको जोखिम भोगिरहेको छ हिमालपारिको जिल्ला मुस्ताङले। गत साउन अन्तिम साता मात्र मुस्ताङको कागबेनीमा बाढी आउँदा ठूलो भौतिक क्षति जिल्लाले भोग्नुपरेको थियो। हिमाली जिल्ला मुस्ताङमा वर्षेनी जसो प्राकृतिक प्रकोपका घटना बढिरहेका छन्।  

प्राकृतिक प्रकोपका घटना बढिरहेको अवस्थामा कसरी त्यसलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने बुझ्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार हिमाली जिल्ला मुस्ताङ  पुगेर स्थानीयसँग संवादमा जुटे। जलवायु परिवर्तनको वास्तविक अवस्था बुझ्न र यसअघिका घटनाबाट भोगेको क्षतिबारे जानकारी लिन प्रधानमन्त्री दाहाल बुधबार मुस्ताङ पुगेका थिए।  

त्यस अवसरमा प्रधानमन्त्रीले स्थानीयबासि, राजनीतिक दल, प्रशासनिक निकाय, राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लगायतका निकायका पदाधिकारीसँग सुझाव लिएका थिए। उनीहरुले जलवायु परिवर्तनको मार मुस्ताङले हरेक वर्ष कुनै न कुनै रुपमा खेप्नुपरेको भन्दै चिन्ता जनाएका थिए।  

प्रधानमन्त्री दाहालसँगको छलफलको क्रममा गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले जलवायु परिवर्तनसँगै तापक्रम वृद्धिले गर्दा हिमाली जिल्लामा हिमताल विष्फोट हुने जोखिम बढ्दै गएको भन्दै चिन्ता जनाएका थिए। माथिल्लो क्षेत्रमा रहेका हिमताल विष्फोटको जोखिम बढेको उनले बताएका थिए।

‘यो पटक मुस्ताङको कागबेनीमा क्षति भयो, पोहोर हिमपहिरो आयो, वर्षेनी कुनै न कुनै प्रकारले जलवायु परिवर्तनको असर हामीले भोगेका छौ,’ प्रधानमन्त्रीसमक्ष शेरचनले भने, ‘जलवायु परिवर्तनलाई कमजोर ठान्नुभएन।’ त्यसबाहेक जिल्लाको भौतिक विकास, कालीगण्डकी नदीको जोखिम लगायतबारे पनि शेरचनले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।  

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार पछिल्लो समय जिल्लामा प्राकृतिक प्रकोपका घटना बढ्नुमा जलवायु परिवर्तन मुख्य कारक रहेको छ। उनका अनुसार कालीगण्डकी नदीको कटान, कम पानी पर्ने लोमान्थाङ लगायतका क्षेत्रमा अधिक पानी पर्दा त्यहाँका सम्पदा जोखिममा परेको, मठ, मन्दिर भत्केको, यो वर्षमात्रै कागबेनीमा बाढी आउँदा क्षति पुुगेकोबारे प्रधानमन्त्री दाहाललाई जानकारी दिएका थिए।  

‘जलवायु परिवर्तनको असर साह्रै नै परेको छ । हिमाली जिल्लाले पछिल्लो समय हरेक वर्षजसो जलवायु परिवर्तनको असर खेपिरहेको छ,’ उनले भने, ‘जिल्लामा हरेक वर्ष घटना घटिरहेका छन्। यसलाई रोक्न जरुरी रहेको छ।’

एक्याप जोमसोमका प्रमुख रवी कडरियाले स्थानीयले भोग्नुपरेको प्राकृतिक प्रकोपका घटना सिधै प्रधानमन्त्रीलाई सुनाउन पाएको बताए। ‘हिमाली जिल्ला भएपनि पछिल्लो समय प्राकृतिक प्रकोपका घटना बढिरहेका छन्। हरेक वर्ष हिमाली जिल्लाले जोखिम जलवायु परिवर्तनको मार खेप्नुपरेको छ,’ कडरीयाले भने, ‘यसबारेमा स्थानीयले समेत प्रधानमन्त्रीलाई जानकारी गराएका छन्।’  

स्थानीयको गुनासो सुनेपछि प्रधानमन्त्री दाहालले नेपालमा जलवायु परिवर्तनको असर विशेष गरि हिमाली जिल्लामा बढी परेको बताएका थिए। त्यसबाहेक पहाडि र तराईका जिल्लामा समेत जोखिम रहेको उनको भनाई थियो। विकास निर्माणका काम गर्दा पनि वातावरणमैत्री पूर्वाधार हुनुपर्ने प्रधानमन्त्रीको भनाई थियो। प्रधानमन्त्री दाहालले मुस्ताङमा जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि ५० करोड रुपैयाँ सहयोग उपलब्ध गराउने जानकारी समेत त्यस अवसरमा दिएका थिए।  

‘जलवायु परिवर्तनको असर कम गर्नका लागि एउटा अन्तर्राष्ट्रिय निकायले झन्डै ५० करोड रुपैयाँ सहयोग गर्दैछ, त्यो सबै रकम मुस्ताङलाई नै दिनेछौ,’ प्रधानमन्त्री दाहालले भने। दाहालले ५० करोड रुपैयाँ दिने निकायबारे भने खुलाएनन।

उनले जलवायु परिवर्तन राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरको पनि चूनौती रहेको बताए। मुस्ताङमा जलवायु परिवर्तनको असर रोक्न सरकार गम्भिर रहेको पनि प्रधानमन्त्री दाहालले बताए। जलवायु परिवतर्नको असरले हिमाली भेगको हिउँ अस्वभाविक रुपमा पग्लने गरेको र त्यसले जनजिविकालाई समेत असर परेको प्रधानमन्त्री दाहालको भनाई थियो। संयुक्त राष्ट्रसंघको महासभामा समेत आफुले नेपालमा जलवायु परिवर्तनबाट परेको असरबारे जानकारी गराएको उनले बताए।  

कोरला र कागबेनीमा आकाशबाटै निरिक्षण

चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको लोमान्थाङ गाउँपालिकाको सिमामा पर्ने कोरला नाका खुलाउन स्थानीयले लामो समयदेखि माग गर्दै आएका थिए। हालै मात्र प्रधानमन्त्री दाहाल चीन भ्रमण जाँदा नाका खुल्नेबारे चीनसँग सहमति हुनेमा स्थानीय विश्वस्त पनि थिए। तरपनि नाका खुल्नेबारे ठोस प्रगति भईसकेको छैन। तर प्रधानमन्त्री दाहालले बुधबार हेलिकप्टरबाटै कोरला नाका र लोमान्थाङ क्षेत्र अवलोकन गरेका थिए। मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार मौसम खराबी भएकोले प्रधानमन्त्री दाहाल चढेको हेलिकप्टर अवतरण गरेको थिएन।  

त्यस्तै बाढीले क्षति पु¥याएको कागबेनी क्षेत्रको पनि प्रधामन्त्री दाहालले आकाशबाटै अवलोकन गरेको प्रजिअ पन्तले जानकारी दिए। कागबेनीको क्षति र नदी आसपासका संरचनाबारे पनि प्रधानमन्त्रीले जानकारी लिएका थिए। त्यस्तै मुक्तिनाथ मन्दिर क्षेत्रको गुरुयोजनाबारे जानकारी लिन पनि प्रधानमन्त्री दाहालले हवाई अवलोकन गरेर फर्किएको प्रजिअ पन्तले बताए।  

प्रकाशित: १ कार्तिक २०८० ११:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App