बाढी पहिरो गएको झण्डै ७ महिनापछि क्षति मर्मत गर्न प्रदेश सरकारले रकम उपलब्ध गराएको छ । गएको वर्षायामताका असोज १२ गते रातिसम्म जिल्लाका विभिन्न ठाउँमा क्षति पुगेको सडक, भवन लगायत भौतिक पूर्वाधारको मर्मतका लागि प्रदेश सरकारले साढे ४ करोड बढी बजेट पठाएको हो ।
खोटाङका २ नगर र ८ गाउँपालिका गरी १० वटा स्थानीय तहमा बाढी पहिरोले धेरै संरचना क्षति गरेको छ । गाईघाट दिक्तेल सडक अन्तर्गत फोक्सिन्टारस्थित भत्केको पक्की पुलदेखि सामुदायिक विद्यालय भवन, दर्जनौँ ग्रामीण सडक, झोलुङ्गे पुल, खानेपानी र सिँचाई संरचनाको पुन निर्माण गर्न बजेट आएको छ । ७ महिनाअघि क्षति पुन निर्माण कार्य चालु वर्षभित्रै सम्पन्न गर्नेगरी बजेट आएको हो ।
मर्मतसंभार शीर्षकमा कम्तीमा १ लाख ५० हजारदेखि, २ लाख, अढाई लाख, ३, ५ ७, ८, ९, १०, १२, १३ र बढीमा २० लाखसम्मका मर्मतका योजना स्वीकृत छन् । सबभन्दा ठूलो साउनेचउर–बन्दुवा–आसावाला–फोक्सिङटार सडक मर्मतका लागि २० लाख, हरेलोडाँडा–सन्सारीडाँडा –बङ्गुर फर्म–गुप्तेश्वर सडक मर्मतार्थ १० लाख बजेट परेको छ ।
तावाखोला–टेम्मा–याम्खा– पञ्चमी सडक १३ लाख, आहाले–साप्सुखोला–रातमाटा–कोटगाउँ सडक मर्मत १२ लाख, पञ्चमी–टुवाखोला–रोक्सिङ सडक १३ लाख, टुवाखोला–दिहुँ–जनसेवा मावि–छितापोखरी सडक मर्मत १० लाख प्राप्त भएको छ । अन्य धेरैजसो सडक, पुल तथा भवन मर्मतार्थ ७ लाख दरका योजना आएको छ ।
त्यस्तै ९ लाखको एउटा योजना छ भने ८ लाख दरका ३ योजना परेका छन् । ७ लाख दरका भने सबभन्दा बढी ३१ वटा सडक मर्मत शीर्षकमा पैसा आएको छ । त्यसैगरी ५ लाख दरका ५ र ३ लाख दरका ३ वटा योजना पनि मर्मत शीर्षकमै प्राप्त भएको छ ।
प्रकाशित: ११ वैशाख २०८२ १५:२४ बिहीबार





