१३ वैशाख २०८२ शनिबार
image/svg+xml १७:५० अपराह्न
राजनीति

गण्डकीका मन्त्रीसँग अथाह सम्पत्ति: छ वटासम्म घर, किलोका गरगहना

गण्डकी प्रदेशका मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार मन्त्रीहरूसँग अथाह सम्पत्ति देखिएको छ। गरगहना समेत किलोका दरले रहेको उनीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ।  

सबैभन्दा बढी सम्पत्ति कानुन, सञ्चार, तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाको रहेको छ। थापाले आफू परिवारको नाममा सम्पत्ति विवरण देखाएका छन्। थापाको सम्पत्ति विवरणमा विभिन्न मल तथा होटल रहेका छ वटा घर उल्लेख गरिएको छ। पोखरा बुटिक होटल, बगैंचा रिसोर्ट, सिटी ट्रेड मल, गण्डकी ट्रेड हाउस, अंशुभरा स्क्वायर, रोयल हिमालयन रिसोर्टलाई थापाले सम्पत्ति विवरणमा राखेका छन्। त्यस्तै पोखराका विभिन्न ठाउँमा उनी र परिवारको सदस्यको नाममा जग्गा छ।

थापासँग एक करोड २० लाख र एक करोड पाँच लाख पर्ने दुईवटा गाडी पनि छन्। मन्त्री थापासँग नगद भने ५५ हजार रूपैयाँ मात्र छ। त्यस्तै ९० तोला सुन, ५० तोला चाँदी र १५ तोला हिरा रहेको पनि उनले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। पैतृक, व्यवसाय र विवाहमा गहना जोडेको उनले उल्लेख गरेका छन्। त्यस्तै झन्डै डेढ दर्जन बैंक तथा वित्तीय संस्थामा थापा र परिवारका सदस्यको नाममा सेयर रहेको छ। थापाले विभिन्न बैंकबाट लिएको ऋणको विवरण पनि उल्लेख गरेका छन्।  

वन, वातावरण तथा भूसंरक्षणमन्त्री दीपक थापासँग स्याङ्जा विरुवामा दुईवटा घर छन्। त्यस्तै उनीसँग ३० तोला सुन र २० तोला चाँदी रहेको छ। थापाले पोखरा महानगरपालिकामा ४० लाख रूपैयाँमा जग्गा किनेको बताएका छन्। विभिन्न बैंकमा १५ हजार नगद देखाएका थापाले ६१ लाख ५० हजार रूपैयाँ ऋण लिएको उल्लेख गरेका छन्। थापासँग २५ वटा बाख्रा, सात सय ५० बोट सुन्तला, छ रोपनी जग्गामा छोराले चलाएको नर्सरी रहेको छ।

ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यसँग गोरखा पालुङटारमा बुवाको नाममा पुख्र्यौली संयुक्त घर जग्गा छ। श्रीमती गंगा सुनारको नाममा पालुङटारमै तीन लाखको जग्गा छ भने आठ तोला सुन र पाँच तोला चाँदी रहेको मन्त्री आचार्यले सार्वजनिक गरेका छन्। मन्त्री आचार्यको विभिन्न बैंकमा ५० हजार बचत छ। दुईवटा बैंकबाट लिएको ५० लाख रूपैयाँ ऋण लिएका उनले १० लाख रूपैयाँ तिरेको उल्लेख गरेका छन्। फर्निचर उद्योगमा पनि २० लाख रूपैयाँ लगानी गरेका छन्।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरमा श्रीमतीको नाममा पाँच लाख मूल्यको जग्गा र एक करोड ५० लाख लगानी बनेको साढे दुई तले पक्की घर रहेको उल्लेख गरेका छन्। तनहुँको तीन ठाउँमा जग्गा देखाएका मुख्यमन्त्री पोखरेलले काठमाडौंमा १५ लाख ऋण लिएर जग्गा किनेको उल्लेख गरेका छन्। उनीसँग पाँच तोला मात्र सुन रहेको छ। बैंकबाट २५ लाख रूपैयाँ ऋण लिएका मुख्यमन्त्री पोखरेलसँग तलबको ५ लाख रूपैयाँ बचत भएको पनि उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। 

भैतिक पूर्वाधारमन्त्री कुमार खड्काले स्वआर्जनका रूपमा पोखरा महानगरपालिका–१६ मा घर देखाएका छन्। श्रीमतीलाई माइतबाट प्राप्त बकसका रूपमा प्राप्त जग्गा साटफेर गरी किनेको जग्गा पनि मन्त्री खड्काले सार्वजनिक गरेका छन्। खड्कासँग ९५ तोला सुन छ। उनको विभिन्न बैंकमा १ करोड रूपैयाँ बढी बचत छ। खड्काले केही सहकारीमा सेयर पनि सम्पत्तिको रूपमा रहेको उल्लेख गरेका छन्। खड्कासँग श्रीमतीको नाममा ४२ लाखको गाडी छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारीसँग लमजुङको दुधपोखरी–४ मा घर रहेको छ। मधुमायाले सहिद परिवारलाई सरकारले दिएको राहतबापतको रकमबाट चितवन र मकवानपुरमा जग्गा किनेको उल्लेख गरेकी छन्। अधिकारीसँग तीन तोला सुन, विभिन्न बैंकमा आठ लाख भन्दा बढी नगद रहेको उल्लेख गरेकी छिन्। उनीसँग एउटा स्कुटर रहेको छ।

पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माको नाममा बागलुङमा श्रीमतीको नाममा ४८ लाख ५० हजार रूपैयाँ मूण्ल्यको घर छ। रूपन्देहीमा ५७ लाख ३५ हजार, चितवनमा ६३ लाख ३५ हजार मूल्यको जग्गा रहेको शर्माले उल्लेख गरेका छन्। उनीसँग २५ तोला सुन र एक किलो चाँदी रहेको छ। शर्मासँग लाखौं रूपैयाँको सेयर लगानी रहेको छ।

शिक्षा, विज्ञान तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठका नाममा स्याङ्जाको भीरकोट र काठमाडौं नागार्जुनमा घर छ। पैतृक सम्पत्तिको रूपमा घर रहेको उनले उल्लेख गरेका छन। उनी र उनको परिवारका सदस्यको नाममा काठमाडौं र स्याङ्जामा जग्गा रहेको उल्लेख गरेका छन्। स्याङ्जाका भीरकोट नगरपालिकामा दुई ठाउँमा जग्गा छ। उनीसँग नगद १५ लाख रूपैयाँ रहेको छ। श्रेष्ठसँग एक किलो १९ तोला सुन रहेको छ। सात किलो दुई तोला चाँदी, एउटा हिराको औंठी रहेको उनले उल्लेख गरेका छन्। ती गहना उनले पैतृक तथा पेवाबापत जुटाएको उल्लेख गरेका छन्। श्रेष्ठ र परिवारको नाममा करिब सात करोड रूपैयाँ बैंक तथा वित्तीय संस्थामा बचत रहेको सम्पत्ति विवरणमा उल्लेख छ। मन्त्री श्रेष्ठसँग एउटा कार, दुईवटा स्कुटर छन्।  

अर्थमन्त्री रामजी प्रसाद बरालसँग पोखरा २२ मा पैतृक सम्पत्तिको रूपमा घर रहेको छ। अर्थमन्त्री बरालले ३ लाख रूपैयाँ नगद र ४ तोला सुन देखाएका छन्। तलब बापतको ३ लाख रूपैयाँ बैंकमा बचत छ। अर्थमन्त्री रामजी बरालसँग पोखरा महानगरपालिका– २२ मा एक रोपनी चार आना जग्गा छ। उनले ४७ लाख रूपैयाँमा अर्को जग्गा किनेका छन्। अर्थमन्त्री बरालले तीन लाख रूपैयाँ नगद र चार तोला सुन देखाएका छन्। एभरेस्ट बैंकमा तलबबापतको तीन लाख रूपैयाँ बचत छ।

 उनले एक करोड रूपैयाँ ऋण लिएको उल्लेख गरेका छन्। बरालका परिवारका नाममा २ मोटरसाइकल, स्कुटर र ६० हजार रूपैयाँ मूल्यको गाई छ। मन्त्री भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ भए पनि युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ र भूमि, व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले पनि सम्पत्ति विवरण बुझाएका छैनन्।

प्रकाशित: १० भाद्र २०७८ ०४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App