डोटी भूकम्पको झन्डै अढाई वर्षपछि नेपाल सरकारका तर्फबाट गृहमन्त्री रमेश लेखक क्षतिग्रस्त क्षेत्रमा पुगेका छन्। क्षतिग्रस्त क्षेत्रमा पुगेर गृहमन्त्री लेखकले भूकम्पीय पुनः निर्माण आयोजना कार्यान्वयन इकाई उद्घाटन गरेका छन्।
शनिवार अछाम जिल्ला समन्वय समितिको कार्यालय स्थापित कार्यान्वयन इकाईको कार्यालय उद्घाटन गर्दै उनले वर्तमान सरकारले भूकम्पपछिको पुनः निर्माण र पुनः स्थापनाको कामलाई उच्च प्राथमिकतामा राखेको बताए।
पछिल्ला वर्षहरूमा डोटी, बझाङ र जाजरकोट जिल्लामा गएको भूकम्पले जनधनको क्षति व्यहोरेको उल्लेख गर्दै उनले जनतालाई लामो समयसम्म राहत र पुनः स्थापनाका काम दिलाउन नसक्नु दुःखद रहेको बताए।
‘अब लामो समयसम्म भूकम्प पीडितले राहत नपाएको समयमा पूर्ण रूपमा क्षति भएका निजी आवासको पुनः निर्माण, पुनः स्थापना र आवास मर्मतको कार्यलाई द्रुत गतिमा अगाडि बढाइनेछ,’ गृहमन्त्री लेखकले भने। अब ढिलो नगरेर रकम उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीहरूलाई पनि उनले निर्देशन दिए।
उनले भने, ‘बजेट व्यवस्थापन सरकारले गर्ने प्रतिबद्धता जनाइसकेको छ। स्थानीय तहबाट समयमा लाभग्राही छनौट गरेर पठाएमा समयमै रकम उपलब्ध हुन्छ।’
अछाममा डोटी, अछाम र बाजुरा जिल्लाका भूकम्प पीडितलाई लक्षित गर्दै इकाई कार्यालय स्थापना गरिएको हो। जहाँ अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ र ४ का चार जना लाभग्राहीलाई पहिलो किस्ताबमोजिमको ५० हजारका दरले चेक हस्तान्तरण गरेर कार्यालय उद्घाटन गरिएको छ।
डोटीको पूर्वीचौकी गाउँपालिका केन्द्रबिन्दु बनाएर २०७९ कात्तिक २३ गते ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो।
प्रकाशित: २४ फाल्गुन २०८१ १६:५१ शनिबार