आम जनता पार्टी(आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष मन्त्रिपरिषद्को निर्णय छानबिन गर्न चुनौती दिएका छन्। शुक्रबारबाट सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै साहले यस्तो चुनौती दिएका हुन्।
‘कुनै पनि भ्रष्टाचारीले भ्रष्टाचार गर्छु भनेको सुनिन्न। हातो हात समाते पनि भ्रष्टाचार गरेको भन्दैन,’ अध्यक्ष साहले भने,‘यदि प्रधानमन्त्री जी तपाईँ साँच्चिकै भ्रष्टाचार गर्नुहुन्न भने कम्तीमा तपाईँ मन्त्रिपरिषद्को निर्णयमाथि किन छानबिन किन नहुने ?’
हालसम्मका प्रधानमन्त्रीहरू चोखो भए मन्त्रिपरिषद्को निर्णय छानबिन गराउन किन डराएको भनी साहले प्रश्न गरे । उनले भने,‘तपाईँ प्रधानमन्त्रीहरू धेरै चोखो, इमानदार हुनुहुन्छ, भ्रष्टाचार गर्नुहुन्न भने मन्त्रिपरिषद्को निर्णय किन छानबिन गर्न डराएको ?’
आफू जोडिएका काण्डको छानबिन गराएर आफू चोखो रहेको देखाउन प्रधानमन्त्री ओलीलाई साहले चुनौती दिए । ‘तपाईँसँग जोडिएको वाइड बडी काण्ड दुनियाँले उठाइरहेको छ, गिरिबन्धु काण्ड लगातार उठिरहेको छ, नक्कली भुटानी शरणार्थी लगातार उठिरहेको छ, तर छानबिन अगाडि बढ्दैन,’ उनले भने, ‘दुनियाँलाई बताइदिनुस् न हाम्रो प्रधानमन्त्री चोखो हुनुहुन्छ भने दुनियाँलाई बताइदिनुस्।’
प्रकाशित: १८ माघ २०८१ १७:४३ शुक्रबार