२४ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रहरी: रविसहित ४४ जनालाई प्रतिवादी बनाइने

प्रहरीले स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्नता देखिएका ४४ जनाविरुद्ध एक अर्ब १९ करोड रुपैयाँ मागदाबीसहित कानुनी कारबाही चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन तयार पारेको छ।

काठमाडौं प्रहरी परिसरले स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा पाँच हजार ६६९ जनाले दुई अर्ब ६५ करोड ९५ लाख ५९ हजार रुपैयाँ बचत गरेकामा एक अर्ब १९ करोड अपचलन भएको अनुसन्धानबाट खुलेको र उक्त रकम अपचलनमा संलग्नता देखिएका ४४ जनालाई प्रतिवादी बनाई उनीहरूसँग सोहीबराबर बिगो मागदाबी गर्नुपर्ने रायसहितको प्रतिवेदन तयार पारेको हो।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको बताए। ‘स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको अनुसन्धान प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाउन समय अपुग भयो, बिहीबार बुझाउनेछाैं,’ एसपी अधिकारीले भने।

 उनका अनुसार अनुसन्धान प्रतिवेदनमा ४४ जनालाई प्रतिवादी कायम गरिएको छ। ४४ जनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसमेत रहेको प्रहरीले जनाएको छ।

काठमाडौंस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबाट हर्बो इन्टरनेसनल प्रालि, गोर्खा मिडिया नेटवर्कसहित १२ वटा कम्पनीमा सहकारी ऐन नियमविपरीत ऋण प्रवाह भएको अनुसन्धानबाट खुलेको छ।

परिसरका प्रवक्ता एसपी अधिकारीका अनुसार स्वर्णलक्ष्मीबाट देवदीप एग्रिकल्चर, मन्दरा टुर्स एन्ड एक्सपिडिसन, गोर्खा हर्बल प्रोडक्सन, कुमकुम हर्बल उद्योग, न्यु सुलक्स अफसेट, गोरखा ग्रुप अफ कम्पनिज, सारेगामा रेकर्डस्, भगवती बालुवाखानीसहित १२ वटा कम्पनीमा ऋण प्रवाह भएको पाइएको छ।

गत कात्तिक २१ मा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको लेखा समिति सदस्य सुनिता नेवा र २६ मा ऋण उपसमिति सदस्य कमल लामा पक्राउ परेका थिए। उक्त सहकारीको रकम अपचलनमा संलग्न जिबी राई, पूर्वडिआईजी छविलाल जोशी, दीपक लामा, कुमार रम्तेल, नवीन अछामीसहित ४४ जनालाई प्रतिवादी कायम गरी मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन प्रहरीले तयार पारेको छ। लामा जिबीका साढुभाइ हुन्।

स्वर्णलक्ष्मी सहकारीका सञ्चालकले सर्वसाधारणको निक्षेप हिनामिना गरेको भन्दै २०८१ वैशाख १६ मा बचतकर्ताले प्रहरीमा जाहेरी दर्ता गराएका थिए। उक्त सहकारीले दुई वर्षदेखि बचत रकम फिर्ता नगरेपछि बचतकर्ताले कालीमाटी प्रहरी वृत्तमा जाहेरी दर्ता गराएका थिए। बचत रकम फिर्ता नगरी सञ्चालकहरू फरार भएको भन्दै बचतकर्ताले आन्दोलनसमेत गरेका थिए।

बचतकर्ताले २०७४ सालमा उक्त सहकारीकी अध्यक्ष भएकी कल्पना श्रेष्ठ, २०७८ सालमा अध्यक्ष भएका दीपक लामा र २०८० सालमा अध्यक्ष भएका गितेन्द्रबहादुर (जिबी) राई, सहकारी व्यवस्थापक नविन अछामी र रास्वपा सभापति लामिछानेविरुद्ध जाहेरी दर्ता गराएका थिए। सहकारीले बचत रकम फिर्ता नगरेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

फरार राईविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’ बाट रेड नोटिस जारी भएको छ। पोखरास्थित सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा राईविरुद्ध अदालतमा मुद्दा दायर भइसकेको छ।

स्वर्णलक्ष्मी सहकारीबाट रास्वपा सभापति लामिछानेले पनि दुईपटक ऋण लिएको र केही रकम फिर्ता गरेको पाइएको छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार राई र लामिछानेले संयुक्त नाममा ऋण लिएका थिए। २०७८ भदौ ४ मा उनीहरूले ‘फोर ह्विलर लोन’ र २०७८ कात्तिक १ मा ‘इको सेभेन सिटर भ्यान’ खरिद गर्न भनेर ऋण निकासा गराएका थिए। ‘फोर ह्विलर लोन’ बापत ४६ लाख ९८ हजार रूपैयाँ लिएकोमा ३२ लाख २१ हजार फिर्ता नगरेको स्वर्णलक्ष्मीको अभिलेखमा भेटिएको छ।

त्यस्तै, ‘इको सेभेन सिटर भ्यान’ खरिद गर्न ४६ लाख ८८ हजार रूपैयाँ लिएकोमा २९ लाख ५२ हजार रूपैयाँ नतिरेको अनुसन्धानबाट भेटिएको छ। स्वर्णलक्ष्मीबाट गैरकानुनी रूपमा राई र लामिछानेसहितको नाममा प्रवाह भएको ऋणको ३५ थान भौचर प्रहरीले बरामद गरी अनुसन्धान गरेको थियो।

स्वर्णलक्ष्मीबाट गोरखा मिडिया नेटवर्कमा एक करोड ८२ लाख रूपैयाँ अवैध तरिकाले लगेर अपचलन गरेको पाइएको छ। उक्त सहकारीबाट राई र लामिछानेसहितले गोरखा मिडियाबाट लगेको एक करोड ८२ लाख रूपैयाँ फिर्ता गरेका छैनन्। अहिले कास्की जिल्ला अदालतमा लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस भइरहेको छ।

प्रकाशित: १८ पुस २०८१ ०६:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App