गृहमन्त्री रमेश लेखकले नेपाल सरकारले चीनसँग भएका बेल्ट एन्ड रोड इनिसिएटिभ(बिआरआई) फ्रेमवर्क सम्झौता नेपाली कांग्रेसको सहमतिमै भएको प्रस्टोक्ति दिएका छन् । कांग्रेसको कोसी प्रदेश सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले कांग्रेसको धारणा, सल्लाह र सहमतिमा सम्झौता भएको बताएका हुन् ।
‘नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बिआरआई सम्बन्धी थप सम्झौता गरेको छ,’ उनले भने, ‘यो सम्झौता नेपाली कांग्रेसको धारण सल्लाह र सहमति अनुसार भएको हो । यसमा अन्यथा सोच्न जरुरी छैन ।’
गृहमन्त्री लेखकले मुलुकको समग्र विकास गर्नका लागि आर्थिक सहायता लिने आवश्यक रहेको भन्दै बिआरआइमा ऋण लिने कुरा नभएको बताए । उनले भने, ‘कांग्रेसले ऋण लिन्न भनेर भनिसकेको छ । सम्माननीय प्रधानमन्त्रीजीले ऋण लिने कुरा भएको छैन भनिसक्नु भएको छ ।’
कांग्रेस र एमाले मिलेर बनेको राजनीति समीकरणको लक्ष्य भ्रष्टाचार नियन्त्रण, विकास र समृद्धि रहेको पनि उनले बताए ।
संविधान संशोधनको विषय उठेको भन्दै सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशितालाई थप उन्नत बनाउनका लागि संविधान संशोधन गरिने गृहमन्त्री लेखकले बताए ।
प्रकाशित: २२ मंसिर २०८१ १४:४९ शनिबार