संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धा दल नेकपा (एमाले)नै रहेको बताएका छन्।राजनीतिक अस्थिरता चिर्न मात्र दुई दलबीच सहकार्य भएको उनको भनाइ थियो।
नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमशेर जबराको ४७औँ स्मृति दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अस्थिर राजनीतिका कारण प्रतिस्पर्धी दुई दलबीच सहकार्य भएको दाबी गरे।
२०८४ सालको निर्वाचनमा सहकार्य नहुने उल्लेख गर्दै उनले कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने दाबी गरे। मन्त्री पाण्डेले भने, 'नेपाली कांग्रेसको प्रमुख प्रतिस्पर्धी नेकपा एमाले नै हो । राजनीतिक अस्थिरता चिर्नका लागि एमालेसँग सहकार्य गरेका हौँ ।२०८४ सालमा पनि कांग्रेस–एमालेबीच नै प्रतिस्पर्धा हुने हो ।'
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सुवर्ण शम्शेर राणा नेपाली कांग्रेसप्रति समर्पित र तत्कालीन लोकतान्त्रिक राजनीतिलाई चलायमान गर्ने नेता भएको बताए। उनले बिपी, सुवर्ण शम्शेर, गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका नेताहरू प्रति एक अर्कोमा हार्दिकता, आत्मीयता र सद्भाव रहेको बताए।
उनीहरूको त्याग अनुपम भएको उल्लेख गर्दै मन्त्री पाण्डेले आफू नै मन्त्री वा पार्टी सभापति बनिरहनु पर्छ भन्ने भावना नभएकाले नेपाली कांग्रेस अहिले पनि मुलुकको सबैभन्दा ठुलो पार्टीका रुपमा स्थापित रहेको दाबी गरे।
प्रकाशित: २५ कार्तिक २०८१ १७:१२ आइतबार